५ फागुन, एजेन्सी । स्पेनिस ला लिगामा पुछारमा रहेको लेभान्टेसँग एट्लेटिको म्याड्रिडले घरेलु मैदानमै हार बेहोरेको छ । एट्लेटिको लेभान्टेसँग १–० ले स्तब्ध बनेको हो ।
वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा घरेलु टोली एट्लेटिकोलाई हराउन गोन्जालो मेलोरोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । मेलेरोले ५४औं मिनेटमा जर्ग डि फ्रुटोसको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलले पछि परेको एट्लेटिकोले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न नसक्दा एट्लेटिको पराजित हुन पुग्यो । यो हारसँगै एट्लेटिकोले बार्सिलोनालाई पछि पार्दै शीर्ष चारमा उक्लने मौमासमेत गुमाएको छ ।
एट्लेटिको २४ खेलबाट ३९ अंक जोडेर पाचै स्थानमा रहेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३९ अंक रहेपनि गोलअन्तरमा चौथो स्थानमा रहेको छ । एट्लेटिकोलाई हराएको लेभान्टे १४ अंक जोडेर पुछारमा रहेको छ ।
रियल म्याड्रिड २४ खेलबाट ५४ अंक जोडेर शीर्षस्थानमा रहँदा सेभिया ५० अंक जोडेर दोस्रो तथा रियल बेटिस ४३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।