संसद्मा एमसीसी टेबल हुने निश्चित, संसद अघि गठबन्धनको बैठक बस्दै

संसद्मा एमसीसी टेबल हुने निश्चित, संसद अघि गठबन्धनको बैठक बस्दै

८ फागुन, काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरू लचिलो भएसँगै आजको संसद् बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेको छ ।

अनौपचारिक रुपमा मोटामोटी सहमति भइसके पनि सत्तागठबन्धनका दलहरुले औपचारिक निर्णय गरिसकेका छैनन् । औपचारिक निर्णय गर्न गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान १० बजे बस्ने बैठकमा औपचारिक सहमति हुने सम्भावना छ ।

बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा बनाउने छ । यसअघि पटक–पटक बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएको थियो । अमेरिकाले एमसीसी पास गर्न आउँदो १६ गतेसम्मको समयसीमा दिएको छ ।

आजको बैठकमा सहमति जुटे दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेपछि विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लचिलो बनेका हुन् ।

माओवादी केन्द्रले गठबन्धनमा सहमति नभइ जबरजस्ती एमसीसी अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गर्दै कार्यकर्तालाई सडक सङ्घर्षमा पठाएको थियो  भने एकीकृत समाजवादीले आजसम्मका लागि पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदमा एमसीसी पेस गर्न सकारात्मक देखिएका छन् भने सत्तागठबन्धन बचाउनै पर्ने बाध्यतामा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक देखिएका छन् ।

यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष पनि एमसीसी अगाडि बढाउन तयार भएको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूको अडान भने यथावत् नै रहेकाले आजको संसद् बैठकमा एमसीसी पेस भए पनि अनुमोदन हुनेमा भने अन्योल छ ।

यसैबीच, संसद् बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले पनि एमसीसीलगायत विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उनले सत्ता गठबन्धनमा सहमति बने एमसीसीलाई नरोक्ने बताउँदै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.