विराटनगर,साउन ३०
बुद्ध एयर लक्ष्मी मार्ग अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो संस्करण भदौको अन्तिम साताबाट हुने भएको छ । मोरङ जिल्लाको बेलबारी नगरपालिकास्थित लक्ष्मी मार्ग फुटबल मैदानमा भदौ २३ गतेदेखि सुरु हुने प्रतियोगितामा भारतको युनाइटेड खर्साङ एफसीसंगै राष्ट्रियस्तरका सात क्लबबीच प्रतिस्पर्धा हुने आयोजक डागिहांट युथ क्लबले जनाएको छ ।
लक्ष्मीमार्गमा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विक्रम राईले उपाधी विजेता टोलीले २ लाख २२ हजार रुपैयाँसहित ट्रफी हात पार्ने जानकारी दिए । त्यसैगरि, दोश्रो हुने टोलीले १ लाख २ हजार रुपैयाँ प्राप्त गर्नेछ । अध्यक्ष राईका अनुसार गएको वर्षभन्दा यसपटक पुरस्कार राशी दोब्बर गरिएको हो ।
गतवर्ष सम्पन्न प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार रुपैयाँ हात पारेको थियो । प्रतियोगितामा काठमाडौंको चर्च ब्वाइज, आयोजक डागिहांट युथ क्लब, मोरङ फुटबल एकेडेमी उर्लाबारी, युनाइटेड खर्साङ भारत, विर्तामोड युनाइटेड क्लब झापा र उदयपुर ११, इलाम ११ र धनकुटा ११ को सहभागिता रहनेछ ।