घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

४ चैत्र, विराटनगर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी लाइसेन्सका लागि भएको परीक्षाको परिणाम फेरबदल गरी फेललाई पास र पासलाई फेल एवं परीक्षामा नै सहभागी नभएकालाई पास गराउने ९ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ कर्मचारीविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धि आरोपपत्र दायर गरेको जानकारी दिएका छन् ।

मिति २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरूमध्ये १६६ जना परीक्षार्थीहरूको विद्युतीय सवारी चालक अनुमतिपत्र दर्ता प्रणालीमा परिणाम अध्यावधिक तथा प्रमाणित गर्ने क्रममा पास गरे गराएको तथा दुई जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरूलाई परिणाम अपडेट गर्दा फेल गराई जम्मा १६८ जना परीक्षार्थीहरूको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको, विज्ञप्तिमा उल्लेख छ, ट्रायल परीक्षामा खटिने निरीक्षकहरूले हस्ताक्षरसहित पेस गरेको नतिजा सूची ट्रायल परीक्षण सेड्युल रिपोर्ट उपलब्ध गराई सोही नतिजाका आधारमा ट्रायल टेस्ट अपडेट र प्रमाणित हुनुपर्नेमा सो विपरीत हुनेगरी फेल तथा अनुपस्थित रहेका परीक्षार्थीहरूलाई पास र पास भएका परीक्षार्थीहरू फेल गरी गराई परीक्षाको परिणाम फेरबदल गर्दासमेत निज निमित्त कार्यालय प्रमुख समेतले संलग्न कर्मचारीलाई कुनै प्रकारको विभागीय कारबाही गरेको नदेखिएको ।

अख्तियारले शाखा अधिकृत पौडेल, हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल भ्रष्टाचारमा संलग्न रहेको भन्दै आरोपपत्र दायर गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.