भाजपा र पीटीआईजस्तै राप्रपा नेपाल पनि भविष्यमा ठूलो दल बन्छः कमल थापा

भाजपा र पीटीआईजस्तै राप्रपा नेपाल पनि भविष्यमा ठूलो दल बन्छः कमल थापा

५ चैत्र, पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी विचारमा विशाल भएको तर्क गरेका छन्।

पोखरामा शनिबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संख्यामा सानो भए पनि विचार र एजेण्डामा बलियो भएको जिकिर गरेका हुन्। स्पष्ट विचार र एजेण्डा बोक्ने पार्टी संख्यात्मक हिसाबमा विस्तारै माथि आउने भन्दै उनले भारतको भारतीय जनता पार्टी र पाकिस्तानको पीटीआई पार्टीको उदाहरण दिए।

विचारकै कारण नरेन्द्र मोदीको नेतृत्वमा भाजपा भारतमा उदाएको र पाकिस्तानमा इमरान खानको नेतृत्वमा पीटीआई सबैभन्दा ठूलो दल बनेको भन्दै थापाले राप्रपा नेपाल पनि भविष्यमा ठूलो दल बन्ने दाबी गरे।

‘बिउ सानै हुन्छ। तर असल जातको बिउ रोप्यौं र राम्रो रेखदेख गर्‍यौं भने राम्रो फल्छ,’ उनले भने, ‘भारतमा हामीजस्तै विचार बोकेका, सनातन धर्मसंस्कृति रक्षार्थ १९८० मा स्थापित भाजपामा सुरुवातमा दुई जनामात्रै सांसद थिए। आज नरेन्द्र मोदीको नेतृत्वमा झण्डै दुईतिहाइ ल्याएर सनातन धर्म रक्षा गरी विकास र समृद्धिको दिशामा अघि बढेको छ।’

उनले थपे, ‘पाकिस्तानमा इमरानको खानको पार्टीले सुरुमा एक सिटमात्रै जितेको थियो। विचारले जनताको मन जित्दा आज ठूलो पार्टी छ। हामी आज सानो छौं। तर लोकतान्त्रिक हिन्दूराष्ट्र, सुशासन र समृद्धिको बाटोमा हिँडेका छौं। हामी संख्यात्मक कम भए पनि भावनात्मक रुपले एकत्रित छौं। विचारमा बलियो छौं।’

उनले विचार र एजेण्डाले पार्टी बन्ने भन्दै लोभी पापी र स्वार्थीहरुले छोड्दैमा केही फरक नपर्ने बताए। आफ्नै समूहका नेताहरुले पनि राप्रपा छोड्न नमानेको र राप्रपा नेपालमा फर्किएर साथ नदिएकोमा गुनासो गर्दै उनले भने, ‘भीडमा शक्ति हुँदैन। भीड जम्मा गर्ने अनुशासनहीन, स्वार्थीहरु नखोज्नुस्।

मैले धेरैलाई मेयर उपमेयर बनाएको छु। मन्त्री सांसद बनाएको छु। अहिले लोभी पापीहरु अधिकांश मेरो साथमा छैनन्। केही चिन्ता छैन। स्वार्थ बोकेको समूहले काम दिँदैन भन्ने अहिले पुष्टि भएको छ। भीड जम्मा गर्नेभन्दा सत्यको बाटोमा हिँड्नुस्।’

थापाले राप्रपा नेपाल आउने चुनावमै जित्छु भनेर नबनेको भन्दै धर्म संस्कृतिक जगेर्ना गर्ने पार्टीका रुपमा भावी पुस्तालाई आधार तयार गर्न अग्रसर भएको बताए।

कार्यक्रममा अध्यक्ष थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा राजतन्त्र पुनर्स्थापना संघर्ष समिति बनेको आरोप लगाए। ‘सैद्धान्तिक विचलनलाई टुलुटुलु हेरेर बस्न सकिएन। हामी एउटा सपना र परिकल्पना बोकेर हिँडेका हौं। जब त्यसमा आघात पुग्यो, सपना हाइज्याक भयो।

पार्टी अपहरण गरियो,’ उनले भने, ‘उनीहरु बलियो प्रजातान्त्रिक शक्ति होइनन्। राप्रपालाई राजतन्त्र पुनर्स्थापना गर्ने संघर्ष समिति बनाउन चाहन्छन्।’ समाज बदल्न, सकारात्मक परिवर्तन ल्याउन, भ्रष्टाचार नियन्त्रण गरेर सुशासन ल्याउन, गरिबी, बेरोजगारी हटाएर आर्थिक समृद्धि ल्याउन राप्रपा नेपाल गठन भएको उनको भनाइ छ।

‘तर यसबाट विचलित भएर राजतन्त्र पुनर्स्थापना समिति बनेपछि हामी अपमानित भएर एउटा कुनामा बस्न सकेनौं,’ थापाले सुनाए, ‘निर्मल निवासले राप्रपालाई रिमोट कन्ट्रोलबाट चलाउन खोजेपछि, आफ्नो विचार सपना र परिकल्पनालाई जीवन दिन फागुन ७ गते राप्रपा नेपाललाई पुनर्जागृत गरायौं।’

धर्म संस्कृति रक्षा गरेर विकास गर्न सकिन्छ भन्ने आफूहरुको मान्यता रहेको उनको भनाइ छ। थापाले राजा र राजसंस्थाप्रति सम्मान रहेको पनि बताए। ‘पृथ्वीनारयण शाह, महेन्द्र र वीरेन्द्रप्रति उच्च सम्मान छ। तर अहिलेको धरातलीय यथार्थलाई दृष्टगत गर्दै राजसंस्थाको एजेण्डालाई कार्यगत नीतिमा राखेका छैनौं,’ उनले स्पष्ट पारे। ‘धर्म निरपेक्षताले धार्मिक द्वन्द्व बढायो’

अध्यक्ष थापाले धर्म निरपेक्षताले देशमा धार्मिक द्वन्द्वको बिजारोपण गरिरहेको टिप्पणी गरे। सनातन धर्म नष्ट पार्न संगठित र योजनाबद्ध रुपमा काम भइरहेको र यसमा प्रमुख दलले मौनता साधेको आरोप लगाए। ‘केही हजार डलर र विदेशीको दबाब र प्रभावमा दलहरु चुप छन्।

संगठित रुपले भइरहेको धर्म परिवर्तनबारे कोही बोल्दैन। सनातन धर्म संस्कृति नष्ट गरिरहेका छन्,’ उनले भने, ‘सनातन धर्म नष्ट भयो भने अस्तित्व समाप्न हुन्छ। देश टुक्रिन सक्छ।’ धर्म निरपेक्षताले धार्मिक द्वन्द्वको बिउ रोपिरहेको भन्दै थापाले त्यसलाई रोक्न देशले एउटा सकारात्मक परिवर्तन खोजेको बताए।

परिवर्तन विदेशी होइन, नेपाली आफैँले गरेको हुनुपर्ने उनको भनाइ छ। ‘जसले राष्ट्रियतालाई बलियो बनाओस्। शान्ति र स्थायीत्व कायम गरेर आर्थिक विकास समृद्धि हासिल गरोस्। देशमै रोजगार र जागिर खाने अवस्था आओस्,’ उनले भने।

यही सकारात्मक परिवर्तनका लागि विकल्प खोज्न राप्रपा नेपाल जागृत भएको थापाको भनाइ छ। ‘यहीँ सपना बोकेर हामीले राप्रपा खोलेका थियौं। तर २०७३ सम्म बाटो बिरायौं। जनताले मत दिँदा बाटो बिरायौं। गल्ती गर्‍यौं। अब जनतासँग माफी माग्नुपर्छ। गल्ती त्रुटि सच्याउँदै देशलाई सकारात्मक आन्दोलनतर्फ अग्रसर गराउनुपर्छ,’ उनले भने।

अध्यक्ष थापाले अहिले राष्ट्रियता कमजोर भएको बताए। ‘बाह्य शक्तिको चलखेल र षडयन्त्र बढेको छ। विदेशीहरुले रणनीति स्वार्थ पूर्ति गर्ने स्थल बन्न खोज्दैछन्,’ उनले भने, ‘एमसीसीमा अमेरिका र चीनले जुन अभिव्यक्ति दिए, नेपाललाई आफ्नो स्वार्थ पूर्ति गर्ने खेलस्थल, मैदान बनाउन खोजिरहेका छन्।’

प्रमुख दलका नेताहरु सत्तामा पुग्छ र टिक्न विदेशी सहयोग चाहिन्छ भनेर आत्मसमर्पणवादी चिन्तनबाट ग्रसित रहेको उनको टिप्पणी छ। ‘अर्थतन्त्र कमजोर छ। भ्रष्टाचार विकराल भएको छ। यो बीचमा कैयौं भ्रष्टाचार काण्डको चर्चा भयो। अर्बौंको ब्रह्मलुट भयो। तर कसैमाथि कारबाही भएको छैन,’ उनले भने।

३८ क्वीन्टल सुन तस्करी, वाइडबडी, एनसेल कर, ललिता निवास जग्गा कब्जा, यति र ओम्नीजस्ता भ्रष्टाचार काण्ड र ब्रह्मलुट भइरहेका कसैमाथि कारबाही नभएको भन्दै उनले राप्रपा नेपालले भ्रष्टाचार नियन्त्रण र सुशासनसहित समृद्धि हासिल गर्न राप्रपा नेपाल आएको उनको तर्क छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.