८ चैत्र, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले दशकका उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको कोच अफ द डिकेटका रुपमा टमाटा सम्मानित भएका हुन् । गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडीको दशकको प्रदर्शनका आधारमा उत्कृष्ट छनोट गरेको हो ।
टमाटाको मुख्य प्रशिक्षणमा नेपालले सन् २०१८ मा ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहँदै नेपाल ऐतिहासिक ओडिआई मान्यता पाएको थियो ।
उनकै नेतृत्वमा त्यसै वर्ष नेपालले नामिबियामा डिभिजन–२ मा फाइनल सम्म पुगेको थियो । सन् २०१९ मा नेपालले युएईसँगको तीन ओडिआई र तीन टि २० आई सिरिज समान २–१ ले ऐतिहासिक रुपमा जित्दा उनी मुख्य प्रशिक्षक थिए । नेपालले उनकै मुख्य प्रशिक्षकमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गरेको थियो ।
२०१८ मा नै मलेसियामा भएको आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट बी को उपाधि जित्दा टमाटा टोलीको मुख्य प्रशिक्षक थिए । २०१६ मा नेपाली यू–१९ टोलीले विश्वकप खेल्दै क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो । त्यो नै यू–१९ टोलीले खेलेको अन्तिम विश्वकप हो । उक्त विश्वकपमा नेपालले टेस्ट टोली न्युजिल्यान्डलाई हराएको थियो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला क्रिकेट टोलीले कास्य पदक जित्दा टमाटा प्रमुख प्रशिक्षक थिए । २०१६ देखि २०१९ सम्म टमाटाले नेपाली सिनियर टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि उनी यू–१९ टोलीको मुख्य प्रशिक्षक थिए ।
पछिल्लो समय टमाटा नेपाली महिला टोलीका प्रमुख प्रशिक्षक हुन् । नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा हुँदा कठिन समयमा टमाटाले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा सम्हालेका थिए । टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रमुख प्रशिक्षक समेत हुन् ।