९ चैत्र, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ प्रतिक्रिया दिएका छन् ।
युक्रेनमा आक्रमण सुरु गरेको २७ दिनसम्म पनि रुसले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको भन्दै बाइडेनले रुसी कारबाही अझै तीव्र हुन सक्ने आकलन गरेका छन् ।
राष्ट्रपति बाइडेनले रुसी सेनाको मनोविज्ञान कमजोर हुँदै गएकाले पुटिनले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने बताएका छन् । त्यसको तयारीका लागि युक्रेनमा जैविक तथा रासायनिक हतियार रहेको भन्दै रुसी अधिकारीले झूटा खबर फैलाएको उनको दाबी छ ।
अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डारण गरेको रुसी दाबी झूटो भएको बाइडेनको भनाइ छ । ‘यस्ता दाबीले बरु रुस त्यस्ता हतियार प्रयोगको तयारीमा रहेको संकेत गर्छ,’ बाइडेनले भने ।
पुटिनले अमेरिकाविरुद्ध साइबर आक्रमणको तयारी गरिरहेको पनि बाइडेनको दाबी छ । रुसी आक्रमण रोक्न अमेरिकाले सबै प्रकारका प्रयास गर्ने उनले बताए । युक्रेनले अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नाटो (उत्तर एट्लान्टिक सन्धि संगठन) को सदस्य बन्ने तयारी गरेपछि रुसले आक्रमण सुरु गरेको हो ।
बाइडेनले यसअघि पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएपछि रुसले अमेरिकासँगको सम्बन्ध पूर्णरूपमा विच्छेद भएको प्रतिक्रिया जनाएको थियो ।