विराटनगर, २८ चैत । नेकपा (एमाले) ले रंगेली नगरपालिकाको मेयर पदको उम्मेदवार सर्वसम्मत चयन गरेको छ । नगर कमिटीको बैठकले मेयरमा अहिलेका मेयर दलिप अग्रवाल (बगडिया) लाईनै सर्वसम्मत मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मेयर बगडीयालाई एक महिना अघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगेली पुगेर बृहत जनसभामा पार्टी प्रवेश गरेका थिए । मेयर बगडिया माआवादी केन्द्रबाट निर्वाचित तीन वडाध्यक्षसहित एमालेमा प्रवेश गरेका थिए ।
उनी एक महिना अघि मात्र औपचारिकरुपमा एमाले प्रवेश गरेको भएपनि त्यस अघिनै सकृय रहँदै आएका थिए । सर्वोच्च अदालतको फैसलाका कारण एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामै फर्किएपछि रंगेलीमा मेयर बगडियासहित तत्कालिन नेकपाको सिंगो माओवादी खेमा एमालेमै समाहित भएको थियो ।
माओवादी केन्द्रका नेता कार्यकर्ता एमालेमा समाहित भएपछि सो पार्टीका नेताहरुले अर्को कमिटी पुनरगठन गरेका थिए । तर, मेयर बगडिया पदमुक्त हुने डरले सकृय रहेपनि एमालेमा खुलेका थिएनन् ।
उनैलाई एमालेले आगामी ३० वैशाखमा हुने निर्वाचनमा अघि सारेको हो । बगडिया २०७४ सालको स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।
कुनैबेला मोरङको सदरमुकाम रहेको रंगेलीबाट सदरमुकाम विराटनगर सरेपछि ओझेल परेको थियो । तर अहिले रंगेली पुरानै लयमा फर्कँदै जानथालेको मेयर बगडियाको भनाइ छ । व्यवसायीक पृष्ठभूमीसमेत भएका मेयर बगडियाले निर्वाचित भएसँगै नगरपालिकाबाट कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका थिए ।
नगरपालिकाका अनुसार उनले सोही घोषणा बमोजिम हालसम्म कुनै पनि सेवा सुविधा लिएका छैनन् । उनले गाडी सुविधासमेत हालसम्म लिएका छैनन् । उनले आफ्नै निजी गाडी प्रयोग गर्दै आएका छन् ।
नेकपा (एमाले) मोरङका उपसचिव सन्तोष साहले आगामी मेयरको उम्मेदवारका लागि नगर कमिटीले सर्वसम्मत बगडियालाई सिफारिस गरेको जानकारी दिए । २०७४ सालको निर्वाचनमा कांग्रेसको गढ भनेर चिनिएको सो नगरपालिकामा मेयर बगडिया अप्रत्याशित रूपमा निर्वाचित भएका थिए ।
रंगेलीमा एमालेले मेयरको टुंगो लगाएपनि उपमेयरमा तीन जनाले आकांक्षा देखाएका छन् । उपमेयरमा अहिलेकी उपमेयर केशवकुमारी खराल, एमाले रंगेलीकी नेतृ उषा झा र जिल्ला कमिटी सदस्य भूमा पराजुलीले उपमेयरको उम्मेदवारको रुपमा दावेदारी प्रस्तुत गरेका हुन् । उनीहरु मध्ये खराल २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् । एमालेबाट उम्मेदवार बनेकी झा तेस्रो भएकी थिइन् । उपमेयर खराल पनि बगडियासँगै एमालेमा प्रवेश गरेकी थिइन् ।
साहका अनुसार उपमेयरमा तीन जनाले दावी प्रस्तुत गरेपछि उनीहरु सवैको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाइएको छ । बैठकले पाँच र ८ नम्बर वडाका उम्मेदवारसमेत सर्वसम्मत छनौट गरेको उपसचिव साहले जानकारी दिए । उनका अनुसार ८ नम्बरमा अहिलेकै वडाध्यक्ष ढकप्रसाद आचार्यलाई दोहो¥याउने निर्णय गरेको छ ।
त्यस्तै वडा नम्बर ५ मा पनि अहिलेकै वडाध्यक्ष महानन्द मण्डललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको नगर कमिटीले जनाएको छ । मण्डललाई पनि एमाले अध्यक्ष ओलीले मेयर बगडियासँगै पार्टीमा प्रवेश गराएका थिए । अन्य बाँकी वडाका उम्मेदवार पनि केही दिन भित्रै टुंगो लाग्ने साहले बताए ।