विराटनगर, १० वैशाख । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मेयर पदमा दावी गर्दै आएका नेता यदावले गठबन्धनप्रती असन्तुष्टि जनाउँदै शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनी जसपा पाट विराटनगरमा मेयरको दावेदार थिए । तर, पार्टीले गठबन्धनका नाममा जित्ने ठाउँपनि छाडेको भन्दै उनी असन्तुष्ट थिए । उनी २०७४ सालका निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा उठेर कढा टक्कर दिएका थिए । सो निर्वाचनमा उनको धेरै मत बदर भएका कारण पराजित भएका थिए ।
यसपटक पनि मेयरको दाबेदार रहेका उनले गठबन्धन गरेर अन्याय गरेको भन्दै पार्टी परित्याग गर्ने निर्णय गरेको बताए । जसपा एक्लै बलियो भएको ठाउँमा मेयर अरूलाई दिएर गठबन्धन गरेकाले पाटी परित्याग गरेको यादवले बताएका छन् ।
केन्द्रीय सत्ता गठबन्धनले मेयरमा काँग्रेस र उपमेयर जसपालाई दिने सहमति गरेको थियो । उनले अब निर्वाचनमा स्वतन्त्र रुपमा उठ्ने बताए । भागवण्डा बमोजिम जसपा महानगर कमिटीले उनको नाम उपमेयरमा सिफारिस गरेको थियो ।
तर, त्यसप्रती असन्तुष्ट जनाउदै उनले पार्टीबाट अलग हुने निर्णय गरेका हुन् । नेता यादवको विराटनगरमा बलियो पकड छ । उनी स्वतन्त्र उम्मेदवा बनेको खण्डमा गठबन्धनलाई धक्का लाग्ने निश्चीत छ ।
