३० जेठ, काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तर रह्यो ।
१५।८२ अंकले घटेको बजार २०३२।३४ बिन्दुमा ओर्लिएको छ । बजेट १५ जेठ पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ ।
लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन ।
सोमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन कारोबार रकम झनै खुम्चिएको छ ।
पछिल्लो समय शुक्रबारबाहेक अन्य दिन अर्बको आंकडामा पुग्ने कारोबार रकम सोमबार भने ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ । सोमबार कुनै पनि उपसमूहमा हरियो देखिएन ।
सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको लगानीकर्ताले गुमाए । सोमबार बलेफी हाइड्रोपावरको मूल्य ९।९९ प्रतिशतले बढ्दै २८९।३० रुपैयाँमा कारोबार भयो ।
ग्रिन भेन्चर लिमिटेडको मूल्य समेत ९।९८ प्रतिशतले बढेर ३२०।७० रुपैयाँ पुगेको छ ।
युनिलिभर नेपालको मूल्य ४।१० प्रतिशतले बढ्दै १८ हजार १ सय पुग्यो । यस दिन मानुषी लुघवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै धेरै ५।४० प्रतिशतले घटेर १०४७।२० रुपैयाँमा आएको छ ।