नयाँ क्यारेक्टरमा दर्शक माझ आउने धुर्मुसको तयारी

नयाँ क्यारेक्टरमा दर्शक माझ आउने धुर्मुसको तयारी

१५ साउन,काठमाण्डौ ।

फिल्म ‘सेन्टीभाइरस’ रिलिजसम्म धुर्मुस नामले चर्चित अभिनेता सीताराम कट्टेलको कलाकारिताको गति एकनासले अघि बढिरहेको थियो ।जब भक्तपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले उनको यो गति कतै अलमलियो । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा छन् ।

यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए । ‘रंगशालाको विषय टुंगिएपछि सिर्जनासँग काम गर्न वातावरण पनि चाहिन्छ । यसकै प्रतीक्षामा छु,’ उनले भने ।

धुर्मुस केही क्यारेक्टरमा काम गरिरहेका छन् र तीमार्फत कमब्याक गर्न चाहन्छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा छन् । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् ।

‘केही क्यारेक्टर बनाउँदै आएको छु । हामीले तयार गरिरहेका छौं र सार्वजनिक गर्छौं । मैले केही सर्ट फिल्ममा नयाँ पात्रमा काम गर्र्दैछु । अब बन्नेमा बिल्कुल फरक खालको क्यारेक्टर गर्छु,’ उनले भने, ‘अब हरेकमा फरक टेस्ट दिने प्रयास गर्छु ।’

‘अब गर्ने कलाकारिताकै चीज गर्ने हो । धेरै चीज गर्न बाँकी थिए, बीचमा अधुरै भए । बनाएका चीजमा पनि टाइम दिन पाइएन । समयले पनि सबैतिर परिबन्दमा परियो,’ सीताराम भन्छन् ।‘कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे मनस्थिति बनाउँदैछु, उनले भने, ‘चाँडै यसबारे औपचारिक जानकारी दिनेछौं ।’सीतारामले निर्माण गरेको फिल्म सेन्टीभाइरस सन् २०२० मा रिलिज भएको थियो । त्यसलगत्तै कोरोना महामारी सुरु भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.