२२ साउन, काठमाण्डौ ।
जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोसिमा संग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने जापान भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले आणविक बम खसेको हिरोसिमा सहर स्थित संग्रहालयको अवलोकन गरेका हुन् ।
हिरोसिमामा सन् १९४५ अगस्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट जाँदै गर्दा अमेरिकी बमवर्षक विमानले आकाशबाट ‘लिटिल बोय’ खसालेको थियो । जस कारण क्षणभरमै हिरोसिमा खण्डहर बन्न पुगेको थियो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकिरण फैलियो ।
लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भएको थियो । हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगस्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालिएको थियो ।
त्यहाँ पनि लाखौँको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए । विज्ञान प्रविधिको विकासबाट प्राप्त उपलब्धिबाट मानवता हारेको उक्त त्रासदीपूर्ण घटना भएको ७७ वर्ष पूरा भएको छ । अहिले हिरोसिमामा संग्रहालय निर्माण गरिएको छ । प्रचण्डले सोही संग्रहालयको भ्रमण गरेका हुन् ।
त्यो संग्राहलायलाई अमेरिकाको जापानमाथिको आततायी घटनाको स्मरण दिलाउने स्थानका रुपमा जापानी नागरिक माझ चर्चित छ । जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्ड अहिले जापान पुगेलगत्तै सोही स्रंग्राहलयको अवलोकनमा पुगेका हुन् । प्रचण्ड जापान भ्रमण पुरा गरेर यही साउन २५ गते स्वदेश फर्कने कार्यक्रमम छ । उनका जापान भ्रमणका उच्च राजनीतिक भेटवार्ताका विषयमा भने केही पनि खुलाइएको छैन् ।