२८ साउन,एजेन्सी ।
विश्वप्रसिद्ध ब्रिटिश–अमेरिकी लेखक सलमान रुश्दीमाथि आक्रमण भएको छ । शुक्रबार विहान अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहँदा उनीमाथि चक्कु प्रहार भएको हो । आक्रमणमा अर्का एक व्यक्ति पनि घाइते भएका छन् । अहिले रुश्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
रुश्दी हाल बोल्न सकिरहेका छैनन् र उनको आँखामा पनि चोट परेको छ । आक्रमण गरेका व्यक्तिलाई चक्कु प्रहार गरे लगत्तै कार्यक्रममा उपस्थित व्यक्तिहरुले नियन्त्रणमा लिएका थिए । प्रहरीले २४ वर्षीय हादी मतर नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’ बाट चर्चित बनेका हुन ।
उक्त किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । यही किताबका लागि उनले प्रतिष्ठित बुकर अवार्डसमेत जितेका थिए । भारतमा जन्मिएका रुश्दीलाई धेरै वर्षदेखि ज्यान मार्ने धम्की आइरहेको थियो । रुश्दीले सन् १९८८ मा दी सटानिक भर्सेस प्रकाशन गरेका थिए ।
त्यसयता उनलाई कट्टपन्थी इस्लामिक समूहले मार्ने धम्की दिइरहेको बताइएको छ । यो किताब प्रकाशन भए पछि उनी करिब १० वर्ष लुकेर बस्न बाध्य भएका थिए । पुस्तक आएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए ।
रुश्दीको विरोधमा भारत र इरानमा भएको प्रदर्शनमा कयौं व्यक्तिको मृत्यु भएको थियो । सन् १९९१ मा सो किताबको जापानी भाषामा अनुवाद गरेका लेखकको पनि चक्कु हानेर हत्या गरिएको थियो । यस्तै, इटालियन अनुवादक र नर्वेली प्रकाशकमाथि पनि आक्रमण भएको थियो ।
उनीहरु भने बाँच्न सफल भएका थिए । रुस्दीमाथिको आक्रमणले अमेरिकामा रहेका लेखकहरूको सुरक्षामाथि चुनौती थपिएको उनीहरुले बताएका छन् । ७५ वर्षीय रुस्दीले हालसम्म १४ वटा उपन्यास लेखेका छन् । रुस्दीले केही दिनअघि मात्रै आफ्नो प्रकाशोन्मुख उपन्यास ’भिक्ट्री सिटी’को कभर सार्वजनिक गरेका थिए ।