विराटनगर,भदौ ६
मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको करिव ३८ क्वीन्टल सुन तस्करी प्रकरण मुद्दामा जिल्ला अदालत मोरङबाट धरौटी र साधा तारिकमा छुटेका दुई प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर मुद्धाको प्रकृया अघि बढाउन आदेश दिएको छ ।सुन तस्करी प्रकरणमा मुछिएका निलम्बित एसएसपी श्यामबहादुर खत्रीका सहयोगी र सवारी चालक प्रहरी हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खडकालाई पूर्पक्षमा राखी मुद्धाको प्रकृया अघि बढाउन उच्च अदालत मोरङले आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीस नारायणप्रसाद शर्माको इजलासले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापा साधा र प्रहरी जवान विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्लाको आदेश रित पूर्वक नभएको ठहर गर्दै सरकारी वकिलको कार्यालय मोरङले अदालती बन्दवस्तीको १७ नम्बर गरेको थियो । मुद्धामा मंगलबार उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले खड्का र थापालाई थुनामा राखेर कारबाही प्रकृया अघि बढाउन आदेश दिएको उच्च अदालतमा रजिस्टार नारायण रेग्मीले जानकारी दिए ।
एसएसपी खत्री यसै प्रकरण मुद्दामा पुर्पक्षको लाथि झुम्का कारागारमा थुनामा छन् ।सुन तस्करी प्रकरणमा गत बिहिवार उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा पुर्पक्षकालागि थुनामा रहेका प्रतिवादीहरु पुन्यप्रसाद लामा,संविरप्रसाद तोलाङ्गे र राजन कुमारलाई थुनामा राखेर मुद्धाको प्रकृया अघि बढाउने जिल्ला अदालत मोरङको आदेशलाई सदर गरेको थियो ।
सरकारी वकिलको कार्यालय मोरङले गत बैसाख १९ गते साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा ६३ जनालाई बिपक्षी बनाएर जिल्ला अदालत मोरङमा ‘अपराधिक समुह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर भएको थियो ।
सो मुद्धामा जिल्ला अदालत मोरङले एकसाता लामो थुनछेक बहसपछि जेठ ८ गते तत्कालिन समयमा पक्राउ परेका ३० मध्ये २८ जनालाई थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्न आदेश दिएको थियो भने खडका र थापालाई तारेखमा छाडेको थियो । मुद्धामा सन २०१५ जुलाई यता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैँया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरिएको दाबि गरिएको थियो ।