९ भदौ ,काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले कानून विपरित अनधिकृत रुपमा बनाएका संरचनामा डोजर चलाएर सर्वसाधारणको तर्फबाट वाहवाही बटुलिरहेको अवस्थामा केही साना व्यवसनयी उनकाविरुद्ध नारावाजीमा उत्रिएका छन् । तिनै व्यवसायीको पक्ष लिदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयर बालेनलाई सुझाव दिएका छन् ।
धरानका मेयर साम्पाङको ध्यान पछिल्लो केही देखि आफ्नो उपमहानगरमा भन्दा पनि काठमाडौंमा बेसी छ । केही दिनअघि काठमाडौं पुगेर फर्केदेखि उनी यहाँका मेयर साहविरुद्ध सामाजिक सञ्जालमा लगातार खनिदै आएका छन् । फोहोर व्यवस्थापनबाट सुरु भएको उनको सुझावसहितको प्रहार अहिले बालेनले चलाएको डोजरसम्म आईपुगेको छ ।
अहिले काठमाडौंका मेयर साह सडक मिचेर गरिएका फुटपाथ व्यवसाय तथा अन्डरग्राउन्डका पसलहरू हटाउन व्यस्त छन् । उनको यो कार्यले सामाजिक सञ्जालमा वाहवाही बटुलिरहेको छ । यद्यपि, साना व्यवसायीहरू भने महानगरसँग क्रुद्ध छन् । हिजो उनीहरूले महानगर अगाडि बालेनविरुद्ध नारावाजीसमेत गरेका थिए ।
यही साना व्यवसायीको आवाजमा धरानका मेयर साम्पाङले आफ्नो आवाज थपेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै बालेनप्रति असहमति र साना व्यवसायीप्रति सहानुभूति दर्शाएका हुन् । व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नहुने साम्पाङको मत छ ।
‘सबैको बाँच्ने अधिकार हुन्छ,’ उनले भनेका छन् । अर्को स्टाटसमा साम्पाङले गरिबलाई हेप्नेहरू धुलीसात भएर जाने चेतावनी दिएका छन् । ‘यो संसार तिनै गरिबहरुको श्रमले चलेको छ । संसार बदल्ने शक्तिको स्रोत कहिँ छ त त्यो हो गरीबको भोको पेट र नाङ्गा आङमा,’ साम्पाङले लेखेका छन् ।
सामाजिक सञ्जालमा अति सक्रिय साम्पाङले आज बिहानै तीनवटा स्टाटस लेखे । उनी लाइभमा समेत आए । बिहानै ५ः५२ मा उनले आफ्ना आलोचकहरूप्रति लक्षित गर्दै पहिलो स्टाटस लेखेका थिए । ‘मेरो स्टाटस हेर्न मन नपराउनेहरू र मेरो कार्यहरू देख्न मन नपराउनेहरू सबैले मलाई ब्लक गरिहाल्नु । रिसाउँदै हेरिरहनुको कुनै तुक छैन ।’ उनले भनेका छन् ।
यसअघि हिजो मेयर साम्पाङले धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिने बताएका थिए । उनले लेखेका थिए, धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिने छ । श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागिता ! मेयर हर्कको यो तर्कको भने धेरैले वालश्रमसँग जोडेर आलोचना गरेका थिए ।