एजेन्सी, भदौ ८
एसिया कप छनोट खेलको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले शुक्रबार दोस्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्डसँग खेल्दैछ । पहिलो खेलमा शानदार प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि सुखद् नतिजा निकाल्ने दाउमा रहेको छ ।
श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लब पुरानो क्रिकेट क्लब हो । सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ ।
श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो । यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ । युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन् ।
यो टोलीसँग नेपाली टोलीले जित हासिल गर्नु त्यति सहज नभए पनि नेपाली टोलीले धैर्यता गुमाएका छैनन् । पहिलो अभ्यास खेलमा श्रीलंकाको आर्मी क्रिकेट टिममाथि ६७ रनको जित हासिल गरेसँगै नेपाली खेलाडीमा थप उर्जा मिलेको छ । अभ्यास खेलमा जित हासिल गर्नुभन्दा पनि नेपाली टोलीको प्रमुख लक्ष्य भने एसिया कपमा स्थान बनाउनु रहेको छ ।