‘प्रेमगीत ३’ले एक सातामा कति कमायो ?

‘प्रेमगीत ३’ले एक सातामा कति कमायो ?

१४ असार, काठमाण्डौ ।
सर्वाधिक चर्चा कमाएको नेपाली चलचित्र ‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले सामाजिक संजालमार्फत फिल्मको नेपाल, भारत र विश्वब्यापी कमाइलाई बाहिर ल्याएका छन् ।

यो चलचित्र हिन्दी भाषामा समेत डब गरि विश्वका विभिन्न १२ सय भन्दा बढी स्क्रीनहरुमा एक साथ प्रर्दशन गरिएको थियो । उनका अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ । २ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२ लाख, आइतबार साढे ९५ लाख, सोमबार १ करोड १५ लाख, मंगलबार ६५ लाख, बुधबार ६१ लाख र बिहीवार ५३ लाख कमाइ कमाइ गरेका जनाएका छन् ।

भारतमा पहिलो साता ३ करोड ४४ लाख भारु कमाइ भएको निर्माता सेनले उल्लेख गरेका छन् । ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाई ६.२१ करोड भारु रहेको समेत निर्माताले जनाएका छन् । फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्मले विश्वब्यापी १९.२९ करोड भारु कमाइ गरेको जनाएका छन् ।

गत शुक्रबारबाट चलचित्र नेपाल, भारतसहित विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको छ । ‘प्रेम गीत–३’ हिन्दीमा डबिङ गरेर भारतमा रिलिज हुने नेपालको पहिलो चलचित्र हो । नेपाली चलचित्र उद्योगमा बनेका चलचित्र मध्ये सर्वाधिक चर्चा कमाएको नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज भएको थियो। यसरी देश बाहिर नेपाली चलचित्र प्रर्दशनीमा आएको यो पहिलो पटक हो ।

नेपाल र भारतसहित प्रेमगीत–३ युएई, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया र युरोपका अन्य देशसहित १२ सय स्क्रिनमा रिलिज भएको छ ।

यो चलचित्रलाई भारतीय समीकक्षकहरुले पनि खुलेर तारिफ गरेका छन् । दर्शकहरुले समेत राम्रो प्रतिक्रिया दिएका छन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘प्रेम गीत–३’मा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.