३० असोज, काठमाण्डौ ।
नाबालिग बलात्कार आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका नेपाल क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान अगाडि बढाएको छ ।
गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
उनीविरुद्ध अनुशन्धान गर्न अदालतले दिएको समय ३१ ग्ते सकिने र आगामी कार्तिक १ गते सन्दीपलाई पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्नसक्ने उनका तर्फबाट वकालत गरिररहेका अधिवक्ता सरोज घिमिरेले बताएका छन् ।
सन्दीपले प्रहरीसँगको साबिती बयान उद्धृत गर्दै प्रहरी अधिकारीहरु भन्छन्,“म माथि आरोप लगाउनेसँग होटलमा गएको सँगै बसेको सत्य हो । तर बलात्कार गरेको आरोप झुटो हो । राति बसेर बिहान निस्किएका हौं ।”
यसबाहेक सन्दीपले क्रिकेटमै संलग्न व्यक्तिहरुले पनि आफुविरुद्धको योजना बनाएको दाबी गर्दै आएका छन् । उनले आफुमाथि आरोप लगाउनेकै आग्रहमा होटलमा बसेको बताएको पनि एक अधिकारीले दाबी गरेका छन् । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए ।
उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका थिए । आफूमाथि आरोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए । प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो ।
सन्दीप र उनका कानुन व्यावसायीले योजनाबद्ध तरिकाले फसाइएको जिकिर गर्दै आएका छन् । सन्दीप र उनका कानुन व्यावसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको जिकिरसमेत गरेका छन् । गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो ।
सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक नाबालिगमाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।सन्दीपले आफु निर्दोष रहेको दाबी गर्दै आएका छन् । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।