छठ पर्व विधिवत रुपमा सुरु, आज ‘नहाय–खाय’

छठ पर्व विधिवत रुपमा सुरु, आज ‘नहाय–खाय’

११ कात्तिक , जनकपुरधाम ।
मिथिला क्षेत्रको आस्था र विश्वासको महानपर्व छठ आजबाट सुरु भएको छ । सूर्य उपासनाको पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दै छन् । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ ।

यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिदै छन् ।

पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् ।

यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा , भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखोलिएको अदुवा, बेसार र फुर्कोसहितको उखु आवश्यक सामग्रीमा पर्दछन् ।

आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यो एउटा यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । षष्ठी तिथिमा मानिने हुनाले यसलाई छठ भनिएको हो ।

छठ भनेको छैँटो तिथि अर्थात् छ अंक को प्रतिकात्मकस्वरुप यसलाई यस्तो नाम दिईएको हो । यो पर्व चतुर्थीको दिनदेखि सुरु भए तापनि षष्ठी तिथिमा अस्ताउन लाग्दाखेरीको सूर्यलाई पूजा गरी अर्घ्य दिएपछि त्यो रातभर जाग्राम बसी भोलिपल्ट सप्तमीको सूर्योदयमा सूर्यको पूजा गरी पुनः सूर्यलाई अर्घ्य दिएपछि मात्र यो ब्रतको समापन गरिन्छ ।

अघि त्रेता युगमा भगवान श्रीरामले सीतालाई अयोध्यामा लिएर आउँदा सरयु नदीमा स्नान गरी यहीँ कार्तिक शुक्ल षष्ठीको दिन अस्ताउँदो सूर्यास्तलाई अर्घ्य दिएर यो ब्रतको सुरुआत भएको मानिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु छठ पर्वको विशेषता मानिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.