२६ मंसिर,काठमाण्डौ ।
सोमबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानमा भिन्न दृष्य देखियो । रंगशालाको मैदानमा नियमित फुटबल खेलिरहेका नभई विरलै खेलेका र कहिल्यै नखेलेका ब्यक्तिहरु समेत खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका थिए । वास्तवमा उनीहरु खेलाडी नभइ काठमाडौं महानगरपालिकाका पदाधिकारीहरु थिए ।
महागनरको २८ औं दिवस मनाउने क्रममा सोमबार बिहान महानगरले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको हो । महानगरले प्रमुख ११ तथा प्रमुख प्रशासकिय अधिकृत ११ बीच रमाइलो फुटबल खेलको आयोजना गरेको हो ।
९० मिनेटसम्म खेलिएको उक्त रमाइलो फुटबलमा प्रमुख ११ लाई प्रमुख प्रशासकिय अधिकृत ११ ले आधा दर्जन गोल हान्दै विजयी भएको छ । रंगशालाको मैदानमा फुटबलको जर्सी लगाएर काठमाडौं महानगरपालिकाका दुई वटा टिम आपसमा भिडेका हुन् ।
मेयर ११ टीमका नेतृत्व मेयर बालेन्द्र साह (बालेन) ले गरेका थिए भने प्रमुख प्रशासकीय ११ टीमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए । मैदानमा प्रमुख ११ टीममा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।
नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि उक्त टिमबाट खेलेका थिए । प्रमुख ११ टीमका कप्तान बालेन साह खेलको उत्तराद्र्धमा मात्र मैदानमा प्रवेश गरे । बालेन मैदान प्रवेश गर्ने बेलासम्म उनको टीमले ५ गोल खाइसकेको थियो । प्रमुख ११ टीमका तर्फबाट बालेनले मध्य क्रमबाट खेलेका थिए ।
महानगरकी उपप्रमुख सुनिता डंगोल दर्शकको रुपमा सहभागि भइन्, उनी खेलाडीको रुपमा मैदानमा आइनन् । प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताइन् ।
उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताएकी हुन् । दुबै टिमका झण्डै ५० जना खेलाडी मैदानमा प्रवेश गर्दै खेलिएको यो खेलमा प्रमुख प्रशासकिय अधिकृत ११ ले प्रमुख ११ लाई ६–१ को गोल अन्तरले पराजित गरेको छ ।