काठमाडौं,भदौ १३
निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको ७० प्रतिशत काम सकिएको छ । हालसम्म आयोजनाको ४ हजार २०० मिटर अर्थात ४।२ किलोमिटर लामो सुरुङ खन्ने काम पुरा भएको छ । बाँधलगायत अन्य पुर्वाधारको काम जारी छ । आयोजनाको अब ३० प्रतिशत मात्र काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
१८ महिनाभित्र आयोजना महिनामा सम्पन्न भई बिजुली बल्ने छ । आउदो २०७६ फागुन ७ गते आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य तय गरिएको छ ।वर्षादका कारण सडक सडक अवरुद्ध हुदा सिमेन्ट र डण्डीलगायत अन्य निर्माण सामाग्रीको आपूर्तिमा समस्या आएको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए ।
उनले भण्डारण रहेको सामाग्री सकिन लागेको र सडक अवरुद्ध हुदा थप आपूर्ति गर्न कठिनाइ भएको जानकारी दिए । सुरुङमा क्रंक्रिट लाइनिङको काम सुरु भएको समेत उनले बताए । निर्धारित समयमै आयोजनाको काम सकिने कोइरालाले जानकारी दिए । आयोजना नेपाल–चीन सीमा रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा पर्छ ।
आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेड भारतले गरिरहेको छ । निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ ।
कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई २५ प्रतिशत अर्थांत १ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ७३ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७३ हजार कित्ता र आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
तेस्रो आईपीओ निष्कासनको काम अघि बढाउन लागेको कोइरालाले बताए । उनले यसका लागि तयारी भइरहेको जानकारी दिए ।
रसुवागढीले पहिलो र दोस्रो गरी १ अर्ब ६४ करोड रुपैयाँ बराबरको १ करोड ६४ लाख कित्ता निष्कासन गरेको थियो । जसअनुसार पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्तालाई निष्कासन गरेको थियो । दोस्रो चरणमा संस्थागत लगानीकर्ता अन्र्तगत नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता संचय कोषका कर्मचारीलाई आईपीओ निष्कासन गरेको हो । पहिलो र दोस्रो आईपीओ आइतबार बाँडफाँट भइसकेको छ ।
रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।(विकास न्युजबाट)