काठमाडौं : सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो । आजको नागरिक दैनिकमा यो समाचार छ ।
नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार बिहानको दुर्घटना त्यसैको परिणाम भएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
नेपाल प्रहरी प्रशासन विभागअन्तर्गत रहेको प्राविधिक निर्देशनालयका उच्च अधिकारीले भने ‘बाटो सहज अवस्थामा थियो मोटरसाइकल चालक पनि धेरैपटक भिभिआइपीको मुभमेण्टमा खटिएकाले अनुभवि नै हुन् । तर खास कारण नहुँदा पनि कारगेड दुर्घटनामा पर्यो यसलाई हामीले दुःख मानेका छौँ । अन्तिममा दोष प्रहरीलाई नै आउँछ ।’
उनका अनुसार, सरकारलाई यो विषयमा जानकारी गराएर ५० वटा मोटरसाइकल किन्नुपर्नेसमेत जनाइएको थियो । तर अर्थ मन्त्रालयले बजेट अभाव देखाएर मोटरसाइकल खरिद रोकेको थियो ।