काठमाडौँ, भदौ १४
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको बताएका छन् ।यहाँ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य दिँदै उनले हिमालय पर्वत शृङ्खला र हिन्द महासागरबीचको बङ्गालको खाडी क्षेत्र सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षाका लागि विशेष महत्व राख्छ भने । बिम्स्टेकमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् । प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हो ।
“भारतको ‘छिमेकी पहिलो’ प्राथमिकताको नीति यसै क्षेत्रका लागि हो”, उनले भन्नुभयो, “हामी सबै विकासशील देश हौँ, शान्ति र समृद्धि सबैको प्राथमिकता हो तर आजको अन्तसम्बन्धित विश्वमा यो काम एक्लैले गर्न सकिँदैन, सबैको साथ र सहयोग आवश्यक छ ।” व्यापार, अर्थतन्त्र, यातायात, डिजिटल र जनस्तरको सम्बन्धको सम्पर्क सञ्जालमा काम गर्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो । भारतीय प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य मुलुकका महिला सांसदबीच सम्पर्क सञ्जाल बनाउन आवश्यक रहेकामा पनि जोड दिए ।
उनले बिम्स्टेक सदस्य राष्ट्रका उद्यमीबीच सम्पर्क र सञ्जाल बढाउन भारत बिम्स्टेकस्तरको सम्मेलन आयोजना गर्न तयार रहेको जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीले सदस्य मुलुकमध्ये अधिकांश कृषिप्रधान देश भएको र जलवायु परिवर्तनका असरसँग जुधिरहेका सन्दर्भमा कृषि अनुसन्धान र शिक्षा विकासमा सहयोगका लागि भारतले यससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने अवगत गराए ।
उनले डिजिटल सम्पर्क सञ्जालको क्षेत्रमा भारत आफ्नो राष्ट्रिय ज्ञान सञ्जाल श्रीलङ्का, बङ्गलादेश, भूटान र नेपालमा बढाउन प्रतिबद्ध रहेको बताउँदै यसलाई म्यान्मा र थाइल्याण्डसम्म बढाउने इच्छा व्यक्त गरे । “म आशा गर्छु यस वर्ष अक्टोबरमा नयाँदिल्लीमा हुने ‘इण्डिया मोबाइल काङ्ग्रेस’मा तपाईँहरु सहभागी हुनुहुनेछ”, उनले भने ।
भारतीय प्रधानमन्त्री मोदीले सन् २०२० अगष्टमा भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने बताउँदै सबै बिम्स्टेक सदस्य मुलुकलाई अतिथिका रुपमा सहभागी हुन निमन्त्रणासमेत गरे । उनले बङ्गालको खाडी क्षेत्रका कलासंस्कृति, सामुद्रिक कानून र अन्य विषयमा शोध गर्नका लागि नालन्दा विश्वविद्यालयमा ‘बङ्गालको खाडी अध्ययन केन्द्र’ स्थापना गरिने अवगत गराए ।
यस क्षेत्रका सबै मुलुकको लामो इतिहास रहेको र इतिहाससँग जोडिएका पर्यटनका सम्भावनाको पूरै लाभ उठाउन पुरातात्विक सम्पदाको पुनरुत्थानमा सहयोग गर्र्नुपर्ने उनको भनाइ थियो । हिमालय र बङ्गालको खाडीसँग जोडिएको यस क्षेत्रका देशले पटक पटक प्राकृतिक विपद्को सामना गर्नुपरेको बताउँदै उनले यसमा एकार्काको साथ र सहयोगमा मानवीय सहायता तथा विपद् पुनःस्थापनाको प्रयास आवश्यक रहेकामा जोड दिए ।
प्रधानमन्त्री मोदीले भने,“ यहाँ कुनै पनि देश यस्तो छैन जसले आतङ्कवाद र आतङ्कवादको सञ्जालसँग जोडिएका आपराधिक र लागुऔषध बेचबिखनजस्ता समस्याको सामना नगरेको होस् ।” उनले यससँग सम्बन्धित विषयमा बिम्स्टेक ढाँचामा एक सम्मेलनको आयोजना गर्न आफू तयार रहेको जानकारी दिए ।
रासस