९ फागुन, काठमाण्डौ ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नपाएमा फागुन २६ गते फेरि मतदानको तयारी गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदै छ । त्यसका लागि सोमबार एक कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गरेका छन् । आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची हिजै कार्यालयलाई उपलब्ध गराइएको छ ।
अब कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने थपलियाले बताए । पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त नभएकाले विद्यमान कानून अनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको उनले बताए ।
प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको बताए । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने थपलियाले बताए । मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ ।
राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७८६ मतभार रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभारको बहुमत अर्थात २६ हजार ३९४ मतभार प्राप्त गर्नुपर्नेछ । आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकेको छ ।
निर्वाचन अधिकृत पौड्यालले मुलुकको सर्वोच्च पदको निर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा गराउन दिइएको विश्वासलाई कामबाट पुष्टि गर्ने प्रतिबद्धता व्यक्त गरे । दुवै पदका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहनेछन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता रहनेछन्। प्रतिनिधि सभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त छन् । संघीय संसद्का प्रति सदस्य ४८ मतभारका दरले २६ हजार ४०० र प्रदेश सभा सदस्यको प्रति सदस्य ७९ मतभारका दरले २६ हजार ३८६ गरी कुल ५२ हजार ७८६ मतभार कायम हुनेछ ।
स्वीकृत निर्वाचन कार्यक्रम अनुसार, राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। साथै, फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।
उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने लगायत कार्यक्रम तय गरिएको छ । वर्तमान राष्ट्रपतिको पदावधि फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदै छ । संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुनुपर्नेछ ।