१३ फागुन, काठमाण्डौ ।
नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निस्कासन गरेको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
एमाले प्रदेश १ को कमिटीले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो । पार्टीको नीति विपरित गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको हो । केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई अतिथि बनाएर प्रसाईंले एक कार्यक्रम राखेका थिए ।
पछिल्लो समय उनी नागरिक बचाउ महाअभियानमा लागेका छन् । उनले मुलुक २०४६ सालअघि फर्काउनुपर्ने भन्दै भाषण समेत गरेका थिए । गणतन्त्रका लागि सशस्त्र युद्धमा होमिएका प्रसाईंले पछिल्लो पटक आफूलाई राजाको सक्रिय शासनको पक्षमा खुला रूपमा उभ्याएका हुन् ।
आज पार्टीले उनलाई निस्काशित गरेपनि यसअघि नै प्रसाईंले सार्वजनिक रूपमै एमाले छाडिसकेको घोषणा गरेका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए । ओलीले पनि उनको गतिविधिबारे पानीको लेभल मिल्दै जाने प्रतिक्रिया दिएका थिए ।
साथै पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थासँग सहकार्य गर्न दलहरूसँग गरेको प्रस्तावको कुनै अर्थ नभएको पनि बताएका थिए । पूर्वराजा शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै राजसंस्था र दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए ।