१६ फागुन, काठमाण्डौ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीले आफूलाई गरेको राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाएका छन् । सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले राष्ट्रपति जस्तो पदमा पनि आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको बताएका छन् ।
पार्टी कार्यकर्ताहरुका लागि राखिएको प्रशिक्षण कार्यक्रममा नेपाले मुलुकका लागि त्यो राम्रो नहुने भएकाले आफूले ओलीको प्रस्ताव स्वीकार नगरेको बताए । उनले भने, ’नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ’, ’यसमा माओवादी केन्द्र त छँदैछ ।’
जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए ।
आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताएका उनले संविधान, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए । उक्त सन्दर्भमा उनले विसं २०७५ गठन भएको नेकपा ब्युताउनुपर्ने कुरा आफूले राख्दै आएको स्पष्ट पारे ।
कार्यकर्ताहरुलाई अध्यक्षले यस्ता स्पष्टीकरण दिइरहँदा यता पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भने माधव नेपालसंग रुष्ट बनेका छन् । उनले पार्टीभित्र कुनै जानकारी वा निर्णय नै नगराई माधव नेपालले नयाँ कोर्स समातेकोमा पनि आपत्ति जनाएका छन् ।
प्रचण्डले राष्ट्रपतिमा एमाले छाडेर कांग्रेसलाई साथ दिँदा एकीकृत समाजवादीले पनि साथ दिँदै कांग्रेसलाई मत दिने घोषणा गरेको छ । तर नेता खनालले आफ्नो पार्टीले कसलाई भोट दिने भन्ने निर्णय नभएको बताए “पार्टीले कुनै निर्णय गरेको छैन ।
माधवजीले एक्लै निर्णय गरेको भए मलाई थाहा छैन । एक्लै निर्णय गर्ने कुरा हो जस्तो मलाई लाग्दैन ”उनले भने । कुनै उम्मेदवारको समर्थक वा प्रस्तावक बस्दा पनि पार्टी निर्णय हुनुपर्ने तर त्यसो नभएको पनि उनको भनाइ छ ।
यस्तै आफूलाई पछिल्ला घटनाक्रमबारे पार्टी अध्यक्ष माधवकुमार नेपालले जानकारी समेत नगराएको नेता खनालले गुनासो गरेका छन् । खनालले एक पछि अर्को समीकरण तोड्ने र बनाउने तर्फ आफ्नो रुचि नरहेको बताउँदै अलि बढी प्रगतिशील शक्तिहरू एकताबद्ध भई मुलुकको निम्ति नीति र कार्यक्रम आइदिए हुन्थ्यो भन्ने लाग्ने गरेको बताएका छन् ।