१८ फागुन, काठमाण्डौ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज यूएईसँग भिड्दै छ । खेल यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहान ११ः४५ बजे सुरु हुनेछ । लगातार जित निकालिरहेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिदैँछ भने यूएई आफ्नो हारको श्रृंखला तोड्ने दाउमा छ ।
नेपालले पछिल्ला पाँच मध्ये पाँचै खेलमा जित निकालेको छ भने यूएईले एक खेल मात्र जितेको छ । नेपाल र यूएईबिचका पछिल्ला पाच खेलमध्ये दुईमा नेपालले र तीन खेलमा यूएईले नतिजा आफ्नो पक्षमा निकालेका छन् । लिग टु को शीर्ष तीनमा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण छ ।
दुवैले समान ७ खेल खेल्न बाँकी छ । हाल तेस्रो स्थानमा रहेको नामिबिया जसको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । त्यसैले आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल छ नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्नेछ ।
मोन्टी देसाइको आगमनपछि हयाप्पी ड्रेसिङ रुम मन्त्रसहित आत्मविश्वासी बनेको नेपाली टिमको ब्याटिङ लय अहिले राम्रो देखिएको छ । आवश्यक परेको बेला जुनै खेलाडीले पनि जिम्मेवारी लिँदै प्रदर्शन गरिरहेका छन् । सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने पनि टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् ।
पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनकैको स्थानमा सन्दीपलाई राखिएको छ । जसले गर्दा नेपालको स्पीन डिपार्टमा फाइदा पुग्नेछ । केही समयअघि घरेलु मैदानमा भएको शृखंलामा सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो रोजाइमा खेलेमा नेपालले तीन फास्टर बलर खेलाउनेछ । पहिलो खेलमा पपुवा न्यु गिनीसँगको लय कायम राख्दै यूएईविरुद्ध २ अंक जोड्ने लक्ष्यमा नेपाल छ ।