१९ फागुन, एजेन्सी ।
आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनीसँग जितको लागि नेपालले १ सय ८० रनको मध्यम लक्ष्य पाएको छ। दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९.२ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो।
पहिलो विकेटका लागि टोनी उरा र डोरिगाले १०.३ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । तर सन्दीप लामिछानेले डोरिगालाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेर नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि पीएनजीले ठूलो साझेदारी गर्न सकेन भने नेपालले नियमित अन्तरालमा विकेट लिइरह्यो ।
टोनी उरालाई २२औं ओभरमा सोमपाल कामीले आफ्नै बलमा उत्कृष्ट क्याच लिँदै आउट गरे । लगत्तै अर्को ओभरमा कुशल मल्ले कप्तान असद भालालई एलबीडब्लु धरापमा पारे । बाउ र भालाले समान ११ रन जोडे । ९१–४ को अवस्थामा रहेको पीएनजीको इनिङ्स हिरि हिरी र गौडी टोकाले सम्हाल्ने प्रयास गरेका थिए ।
यो जोडीले पाँचौ विकेटका लागि १३ ओभर खेल्दै ३२ रनको साझेदारी गरे । गौडी टोकालाई दीपेन्द्रले बोल्ड गर्दै नेपाललाई पाँचौ सफलता दिलाए । टोकाले १५ रन जोडे । ४२औं ओभरमा करण र दीपेन्द्रले चाड सोपरलाई रनआउट गरे । दीपेन्द्रले ४४औं ओभरमा हिरी हिरीलाई आउट गरे ।
सोमपाल कामीले रिले हेकुरेलाई ४७औं ओभरमा बोल्ड गरे । करणले ४९औ ओभरमा नोर्मन भानुअलाई १४ रनमा बोल्ड गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । १० ओभर बलिङ गर्दा दीपेन्द्रले १ मेडन राख्दै ३० र र सोमपालले ३९ रन खर्चिए । सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए ।
कुशल मल्लले १० ओभरमा १ मेडना राख्दै ३६ रन खर्चेर १ विकेट लिए । किफायती बलिङ गरेका करण केसीले ८ ओभरमा २ मेडन राख्दै ३२ रन खर्चिएर १ विकेट लिए । समान एक ओभर बलिङ गरेका कप्तान रोहित पौडेल र आरिफ शेखले क्रमशः १ र ६ रन खर्चिए ।
रोहित र आरिफले मात्र नेपाली इनिङ्समा विकेट लिएनन् । पीएनजीका तीन खेलाडी रनआउट भए । एकदिवसीय मान्यता जोगाउन आजको खेलमा नेपाललाई जित निकाल्नै पर्ने दबाब छ । नेपाललाई विश्वकप छनोट खेल्न अब बाँकी सबै खेल जित्नु पर्ने छ । आजको खेलमा जित निकाल्न सकेमा नेपालले लिग–२ मा ४ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सक्ने छ ।