२५ फागुन, काठमाण्डौ ।
आगामी नयाँ राष्ट्रपतिका लागि अहिले मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन् ।
संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ ।
संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । विसं २०६२÷६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मत भार ७९ र प्रदेशसभा सदस्यको मत भार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीचको प्रतिस्पर्धालाई महत्वकासाथ हेरिएको छ ।
पूर्वसभामुख पौडेल ९ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् । मतदानपछि नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताएका छन् ।
बिहीवार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्ने प्रतिवद्धता जनाए । उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताएका छन् ।
उनले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने बताएका छन् । यस्तै भावी राष्ट्रपतिका अर्का उम्मेदवार सुभाषचन्द्र नेम्वाङले सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् । राष्ट्रपति चुनावअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले देश र जनताका अगाडि ठूलो चुनौती रहेको बताए ।
नेम्वाङले आफू सबै जनता र सबै दलहरूको साझा अभिभावकका रूपमा जाने प्रयास गरेको उल्लेख गरेका छन् । ‘एक सूत्रमा भन्छु, यो देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । अहिले देश र जनताका अगाडि साह्रै ठूलो चुनौती छ । सिंगो देश र जनता, अनि सबै राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ ।’