१३ चैत, काठमाण्डौ ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।
सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएको पुष्टि गरे ।
७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । यस्तै उनीहरुले मिटर ब्याज मुर्दावाद !, बैंकको ब्याज मिनाह गर् भन्दै पनि नारा लगाएका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो । प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन् । यो विषय राष्ट्रिय सभामा पनि उठेको थियो ।
नेकपा एमालेकी राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी थिइन । संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उनले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? भन्दै प्रश्न गरेकी थिइन । तर गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभामा गएर अहिलेसम्म यसको जवाफ दिएका छैनन् ।