१७ चैत, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार एकपछि अर्काे गर्दै डबल सरप्राइज दिएको छ । पूर्वडीआईजी रमेश खरेल बारा २ मा उम्मेदवार बन्ने भएका छन् । यस्तै तनहुँबाट अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्न् छन् । उनीहरु संभावित उम्मेदवारका रुपमा पार्टी विधान अनुशार अघि बढिसकेका छन् ।
पार्टीले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार बारा २ मा दुईजना आकांक्षी छन् । त्यसमध्येका एक खरेल हुन् । सुशासन पार्टीका अध्यक्ष रहेका खरेल रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् । उम्मेदवारीका लागि दावी पेश गरेका अर्का व्यक्ति युवराज न्यौपानेलाई व्याक गराएर खरेललाई उठाउने तयारी गरिएको बुझिएको छ ।
रास्वपामा उम्मेदवारीका लागि दावि पेश गर्नेहरूबीच आन्तरिक रूपमा प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनोट गर्ने प्रावधान छ । प्राइमरी इलेक्सनमा सम्वन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यले भोट हाल्न सक्छन् । पूर्वडीआईजी तथा राष्ट्रिय सुशासान पार्टीका अध्यक्ष रमेश खरेलले उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी नै समाहित गर्नेबारे छलफल हुने बताएका छन्।
बिहीबार मात्रै राष्ट्रि स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन लड्ने घोषणा गरेका खरेलले पार्टी नै गाभ्न प्रस्ताव आएको बताए। ‘एक्लै पनि अगाडि बढ्न नसकिने, अहिले प्रस्ताव आएको छ। छलफल भइरहेको छ हेरौं के हुन्छ। पार्टी मर्जको कुरा पनि आएको छ, सल्लाह गर्नुपर्ने छ। अहिलेचाहिँ उपनिर्वाचनलाई फोकस गर्छौं’, खरेलले भनेका छन् ।
आफूसँगै सुशासन पार्टीमा रहेका नेता÷कार्यकर्तालाई समेट्ने विषयमा सहमति भए पार्टी मर्ज हुने उनले बताएका छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अब स्वर्णिम दिनहरू आउने भन्दै यो देश आफ्नो पुस्ताले हाँक्ने बताएका छन् । कांग्रेस छाडेका युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएका उनले बिहीबार राति फेसबुकमा एकको बदला तीनजना सांसद लिएर सदन छिर्ने प्रणसमेत गरेका छन्।
आफ्नो खुट्टामा काँडा बिझेको भन्दै उनले ती हाँडा टिप्नमात्र निहुरिएको तर नझुकेको बताएका छन् । ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद छिर्ने सपना छ ‘, रविले लेखेका छन् ।
बारा २ बाट अब खरेल रास्वपा उम्मेदवार हुने करिब पक्का भएको छ। त्यहाँका लागि खरेलसँगै युवराज न्यौपानेको नाम रास्वपाले सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको छ। उता चितवन २ मा सभापति रवि लामिछानेको नाम मात्रै रास्वपाले सार्वजनिक गरेको छ। तनहुँ १ मा रास्वपाले बिहीबार मात्रै कांग्रेस छाडेका डा. वाग्ले र ईश्वर लामिछानेको नाम सार्वजनिक गरेको छ।
तर त्यहाँ वाग्लेले टिकट पाउने निश्चित छ। तनहुँ १ मा कांग्रेसले गोविन्दराज भट्टराईलाई उठाउने भएको छ। एमालेले काठमाडौं ६ मा पराजित सर्वेन्द्र खनाललाई उठाउने सम्भावना बलियो छ। चितवन २ मा सभापति लामिछानेको मात्रै नाम सार्वजनिक भएपछि अब उनै उठ्ने छन्।
४ मंसिरको चुनावमा फराकिलो मतसहित निर्वाचित लामिछानेले नागरकिता विवादमा माघ १३ गते सांसद र मन्त्री पद दुवै गुमाएका थिए। चितवन २ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उठाउने भएको छ। एमालेबाट रामप्रसाद न्यौपानेसहित तीनजनाको नाम चर्चामा छ। तर उम्मेदवार तय भइसकेको छैन।
बारा २ मा उपचुनाव लड्ने तयारीमा रहेका खरेल ४ मंसिरमा भएको चुनावमा काठमाडौं १ बाट पराजित भएका थिए। बारा २ बाट विजयी जसपा नेता रामसहायप्रसाद यादव चैत ३ गते उपराष्ट्रपति भएका छन्। त्यहाँ खरेल उठ्ने भएपछि चुनावी भिडन्त रोचक हुने भएको छ।
बारा २ मा जसपाबाट उपेन्द्र यादव, जनमतबाट रामसहायसँग मंसिरमा झिनो मतले पराजित शिवचन्द्र कुशवाहा र लोसपाबाट राजेन्द्र महतो लड्ने पक्का जस्तै छ। अब खरेल पनि थपिएपछि चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ।