२ वैशाख, काठमाण्डौ ।
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । गएराति भएको उक्त घटनामा पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छिन् । उनको खुट्टामा गोली लागेको छ । अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । तीर्थमाली काठमाडौंको गैरीधारामा कान्छो छोरासँग बस्दै आएकी थिइन् ।
गोली किन चल्यो खुलिनसकेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । यद्यपी यो घटनामा प्रहरी नै संलग्न रहेको बताइएको छ । पुनको घरमा गोली चलाउने व्यक्ति उनकै आफन्त समेत रहेका प्रहरी सहायक हवल्दार प्रकाश पुन मगर भएको खुलेको छ । उनी नाताले हजुरआमा पर्ने वर्षमानकी आमा तिर्थमालीलाई भेट्न गैरीधारास्थित निवासमा पुगेका थिए ।
नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र जिसीले वर्षमान पुनकी आमा तिर्थमाली पुनमगर गोली लागेर घाइते भएको पुष्टि गरे । उनको खुट्टाको बुढी औलामा गोली लागेको छ । सुरक्षा सेवा निर्देशनालयबाट खटिएका प्रहरी सहायक हवल्दार पुन मगर कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा गाडीमा हिँडिरहने सुरक्षाकर्मी हुन् ।
गएराति घटना भएपछि प्रहरीलाई २ बजे जानकारी गराइएको प्रहरी प्रवक्ता जिसीले जानकारी दिए । गोली चलेको दुर्घटनावस हो वा नियतवस भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । ’असावधानीवश’ गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरी स्रोतका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए । गोली चलेपछि उनी भागेका थिए । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । नयाँ वर्ष मनाउने भन्दै प्रकाश पुन शुक्रबार गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए । तीर्थमाया छोराहरु डेभिड पुन र प्रनिस पुनसँग बस्थिन् ।
डेभिड र प्रनिस वर्षमानका भाइ हुन् । केही समयअघि प्रकाश पनि त्यही घरमा बस्थे । अहिले उनी छुट्टै डेरा लिएर बस्ने गरेको प्रहरीले स्रोतले जनाएको छ । तिर्थमालीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।