१५ वैशाख, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् । सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन् ।
उनले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको बताए । उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भिर समिक्षा गरेर मात्रै अगाडी बढ्ने स्पष्ट पारेका छन् ।
उनले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भएपनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताए । सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीको मुख्य एजेण्डा नै हटाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको उनले बताएका छन् ।
उनले भनेका छन्,संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर यलाई गम्भिर समिक्षा गर्छौँ । कयौं आपत्तिजनक परिस्थितिहरू सिर्जना भएको छ । त्यसलाई हामी छलफल गरेर निष्कर्षमा पुग्छौं । उनले प्रधानमनत्रीले बधाई दिन फोन गरेको र समर्थन फिर्ता लिनेबारे चासो राख्नुभएको उनले जानकारी दिएका छन् ।
उनले चुनावको बेलामा हेलिकप्टर लिएर गएर हामी दुवैजनाको विरुद्ध मन्त्री पद नै बाँड्ने लगायतका धेरै क्रियाकलाप भएको भन्दै त्यसविषयमा धेरै समीक्षा गर्ने बताएका छन् । पत्रकारहरुको तपाईंहरुले आफ्नो नेतृत्वको सरकार बनाउने प्रयास गर्नुहुन्छ ? भन्ने जिज्ञाशामा भने रविले भनेका छन्, यस्तै किसिमका अस्थिरता रहने र एउटा गन्तीका लागि हुने भयो ।
त्यसले डेलिभरी गर्न नसक्ने अवस्था आयो भने त्यो अभ्यास गर्नुको म तुक देख्दिनँ । सम्भावनाहरू रहन्छन् होला । तर, त्यो सम्भावना खोजी चाहिँ हामी गर्दैनौँ । स्वाभाविकरूपमा हामीले सोचेजस्तो हामीले परिकल्पना गरेजस्तो आफैँले गर्नसक्ने वातावरण बन्यो भने बेग्लै कुरा होला ।
जस्तो उदाहरणका लागि, हामीले भनेका पनि थियौं सबैलाई भाग लगाएर मन्त्रिमण्डल बनाउनुभन्दा १३ वटा मन्त्रालयमात्रै बनाऔं, रास्वपाले सरकार बनाओस्, अरुले समर्थन गरुन्, त्यस्तो अवस्थामा सबैजना तयार भए भने सकिन्छ गर्न सकिन्छ । हामी डेलिभरी गर्न सक्छौं ।