१७ वैशाख, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न रवि आज विहान बालुवाटार पुगेका थिए । बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक अत्याधिक मतका साथ निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् । प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘निर्वाचित भएलगत्तै टेलिफोनबाट बधाई दिनुभएको थियो, आज भेटेरै बधाई दिनुभयो ।’ यस्तै आज उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा प्रचण्डले रविलाई सरकारमा सहभागिताका लागि आग्रह गरेको बताइएको छ । सरकारमा सहभागिता र सरकारलाई दिएको समर्थनबारे निर्णय लिन रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बैठकमा समसामयिक एजेण्डामा छलफल हुने रास्वपाले जनाएको छ । सरकारलाई रास्वपाको समेत समर्थन रहेर पनि मन्त्रिपरिषद्मा सहभागी भएको छैन । सरकारमा सहभागिताको विषयमा रास्वपाले निर्णय लिएको छैन । साथै, अहिलेकै अवस्थामा रास्वपाले सरकारलाई समर्थन गरिरहने सम्भावना कम रहेको लामिछानेले बताइरहेका छन् ।
प्रतिनिधि सभा सदस्यको सपथग्रहण लगत्तै उनले निर्वाचनमा आफूहरुमाथि हलिकप्टरमा सवार भएर सत्तारुढ दल आफूहरुमाथि उत्रिएको भन्दै पार्टीमा सरकारलाई दिएको समर्थनका बारेमा समीक्षा हुने बताएका छन् । यद्यपि रविले आफ्नो दल अस्थिरताको कारक भने नबन्ने बताएका छन् ।
आफूहरुसँग भएको सहमति अनुशार गृहमन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएकमे थियो । शुक्रबार मात्रै माओवादीका नेता र पर्यटन मन्त्री सुनल किरातीले रविले रोजेको मन्त्रालय दिएर भएपनि उनलाई सरकारमा सहभागि गराउनु पर्ने बताएका थिए । यस्तो घटनाक्रमका बीच आज प्रधानमन्त्री प्रचण्ड र लामिछानेवीच भएको भेटवार्तालाई निक्कै महत्वका साथ हेरिएको छ ।