२४ वैशाख, काठमाण्डौ ।
एक नम्बर प्रदेशको नाम कोशी राखिएको विरोधमा पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व आएर कोशी नामको पक्षमा आफ्नो र पार्टीको अडान टसकोमस नहुने अडान राखे । यसका लागि उनले गृहजिल्लादेखि पूर्वका ठाउँ ठाउँमा कालो झण्डा र विरोधको सामना गरे ।
ओलीको यो लाइनमा उनका कट्टर प्रतिद्वन्दी, वाकयुद्धका प्रतिष्पर्धी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि देखिएका छन् । नेपालले पनि ओलीले झैं पूर्व आएर प्रदेशको नाम कोशी नै उचित रहेको प्रतिक्रिया दिएका छन् । आज विराटनगर आएका नेपालले प्रदेश १ को नामकरण कोशीमै सहमति भइसकेको बताएका हुन् ।
उनले ‘कोशी’ साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । यद्यपीप प्रदेशसभामा मतदान हुँदा नेकपा एसका सांसदहरू कोशीको विपक्षमा उभिएका थिए । ‘कोशी नामकरण कुनै धर्म र संस्कृतिसँग जोडिएको छैन । यो प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्छ’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेपालले भने ।
उनले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरी सरकारले काम गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संसदले सहमतिमा जुराइसकेपछि अब कोशी प्रदेशको नाममा विवाद गर्न नहुने जनाए । उनले संसदले कोशीमा सहमति गरिसकेपछि जनतालाई मनाएर जानुपर्ने धारणा राखे ।
‘संसदबाट कोशीमा सहमति नै भएको रहेछ । संसदले सहमतिमा नाम जुराइसकेपछि अब विवाद गर्नुको अर्थ हुँदैन’, उनले भने, ‘हाम्रा केही साथीहरुले आफ्नो ढंगले चल्ने काम गर्नु भएको पनि सुन्नमा आयो। अब त्यसो गरेर हुँदैन।’ उनले कोशीको विकल्पमा सगरमाथा नाम राखेको भए पनि उचित हुने बताए ।‘नेपालको प्राकृतिक सम्पदा हो कोशी, सगरमाथा पनि गौरव हो’, उनले भने, ‘यसमा कुनै आपत्ति थिएन ।
कोशीमा सहमति भइसकेपछि त्यसलाई हामीले मानेर, असन्तुष्टलाई सम्झाएर जानुपर्छ।’ गएको फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखेसंगै पूर्वमा पहिचानपक्षधरले आन्दोलन र प्रर्दशन गर्दै आएका छन् । पहिचानवादीहरुले विराटनगरमा चैत ५ गते वृहत प्रदर्शन गरेका थिए । सोही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ घाइते भएका थिए ।
उनको उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेको थियो । आन्दोलनकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढेको गाडी तोडफोड गर्ने प्रयाससमेत गरेका थिए । चैत १४ र १५ गते विराटनगरमा भएको प्रदर्शनीका क्रममा दर्जनबढी प्रहरी र आन्दोलनकारी घाइते भएका थिए ।