२७ वैशाख, काठमाडौं।
पाकिस्तानमा आयोजना हुने भनिएको एसिया कप सहभागि मध्येको एक राष्ट्र भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि यसको आयोजनाको विषयलाई लिएर सुरु भएको आशंकाका बीच पाकिस्तान आयोजनास्थल सार्न तयार भएको छ ।
एसिया कपको आयोजनाका लागि पाकिस्तानले एसियाली क्रिकेट काउन्सिल (एसीसी) लाई नयाँ प्रस्ताव पठाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजम सेठीले एसीसीलाई युएईमा एसिया कप आयोजना गर्न प्रस्ताव पठाएका हुन् ।
पीएसीबी अध्यक्ष नजम सेठीले मे ८ मा दुबईमा एसीसी सदस्यहरूसँग भेटेका थिए । एसीसी पदाधिकारीहरुले हाइब्रिड मोडलमा एसिया कप आयोजना गर्ने पाकिस्तानको प्रस्ताव अस्विकार भएको जानकारी गराएका थिए ।
तर यो बीचमा श्रीलंकालाई प्रतियोगिताको आयोजकत्व हस्तान्तरण गर्न सकिने तर एसीसी प्रमुख जय शाहको आधिकारिक निर्णय आउन बाँकी रहेको समेत बताइएको छ ।
भारतका कारण एयिा कप नहुने जोखिम बढेपछि एसीसी पनि पाकिस्तानको सट्टा अन्त्य नै आयोजना गर्ने योजनामा रहँदा पाकिस्तानले पनि युएईमा प्रतियोगिता गर्ने गरी प्रस्ताव अघि सारेको हो ।
बोर्ड अध्यक्ष सेठीले आईपीएल गर्मिमा युएईमा गर्न सकिन्छ भने एसिया कप युएईमा सार्दा भारतलाई कुनै आपत्ति हुन नहुने समेत एसीसी पदाधिकारीहरुसँगको भेटमा जिकिर गरेका थिए ।
उनले एसिया कप पाकिस्तानमा आयोजना नगरे बोर्डलाई करिब ३ मिलियन अमेरिकी डलर नोक्सान हुने बताएका छन् । यसैले पनि नजमले भारतका लागि हाइब्रिड मोडलको सुझाव दिएको थियो । जुन भारतले अस्वीकार गरिसकेको छ ।
यसै वर्षको सेप्टेम्बर २ देखि १७ सम्म हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालले खेल्नेछन् । विश्वविजेता भारत र पाकिस्तानसँग पहिलोपटक खेल्ने स्वर्णिम मौका मिलेपछि अहिले नेपाली क्रिकेटको चर्चा शिखरमा छ ।
यद्यपि २१ वर्षअघिको नियति दोहोरिनेसक्ने भन्दै नेपाली समर्थक र खेलाडी चिन्तित भएका छन् । सन् २००२ मा पनि नेपालले एसिया कपको यात्रा गरेको थियो । तर, भारत–पाकिस्तानबीचको कार्गिल युद्धका कारण उक्त संस्करणको एसिया कप हुन सकेन ।
यसपटक पनि नेपालको सपनामाथि तुसारापात भइदिने हो कि भन्ने चिन्ता बढेको छ । अहिले पाकिस्तानमै प्रतियोगिता भएमा भारतले भाग नलिने पक्काजस्तै छ । भारत र पाकिस्तानबीच कुरा नमिल्दा एसिया कप नै रद्द हुने संघारमा पुगेको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यद्यपि एसियन क्रिकेट काउन्सिलले भने अहिलेसम्म यस विषयमा आधिकारिक निर्णय लिईसकेको छैन । एसीसी अहिले एसिया कप आयोजनाका लागि विभिन्न विकल्पमा छलफल गरिरहेको छ ।