२९ वैशाख, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सरकारले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई तीव्रता दिइरहेका बेला शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा शरणार्थी प्रकरणमा थुप्रै फाइल खोलेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको भन्दै रविले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । सरकारमा जाने आफूहरूको योजना सफल नभए पनि अब सडकबाटै सरकारलाई समर्थन गर्ने रविले बताएका छन् । ‘भुटानी शरणार्थी प्रकरणदेखि थुप्रैमा जसरी फाइल खोल्नुभएको छ त्यसमा तपाईँलाई धन्यवाद छ ।
मैले सडकबाट के–के सहयोग गर्न सक्छु गर्छु’ प्रधानमन्त्रीसँगको भेटमा रविले भने, ‘सरकारमै जाने हाम्रो योजना सफल हुन सकेन । अब हामीले सडकबाट समर्थन गछौँ । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’ प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी माथिको कारवाहीमा सहयोग गर्न लामिछानेलाई आग्रह गरे ।
‘तपाईँहरूले भ्रष्टाचारीलाई कारवाही गर्ने सवालमा सहयोग गर्नुप¥यो । सकभर त सरकारमा सहभागी भइदिएको भए झन् राम्रो हुन्थ्यो’ प्रचण्डले भेटका क्रममा भने, ‘त्यो हुन नसके पनि तपाइँहरूले साथ दिनु । म भ्रष्टाचारविरुद्ध र सुशासनको सवालमा निर्मम भएर उभिन्छु ।’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणुसहित बहालवाला सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन् । प्रकरणमा जोडिएका एमाले सचिव टोपबहादु रायमाझी भने फरार छन् । उनको खोजी भइरहेको छ ।
प्रहरीले अन्य आधा दजैन ब्यक्ति अझै शंकाको घेरामा रहेको बताउदै आएको छ । यो प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा र खाँण पत्नी मंजु खाँण पनि जोडिएका छन् । यद्यपि उनीहरुले यसलाई खण्डन गर्दै आएका छन् ।