३० वैशाख, विराटनगर ।
मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक १ लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको प्रसारण लाइनको पोलको टुप्पोमा चढेपछि उनलाई उतार्न विद्युत प्राधिकरणसहित, स्थानीय निकार र प्रहरीलाई निकै परिशानी भइरहेको छ ।
बूढीगंगा गाउँपालिका वडा नम्बर ७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढेका हुन् । उनलाई ओराल्ने प्रयास भइरहेको छ । तर उनले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पोलबाट नझर्ने अडान लिइरहेका छन् ।
बूढीगंगा ७ नम्बर वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा निर्माण भइरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको उनको आरोप छ । आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी उनले दिएका छन् । उनी शनिबार बिहान ६ बजे चढेको स्थानीयले बताएका छन् ।
‘अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् । ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ । तर, युवाले मानिरहेको छैन ।’
अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने वातावरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् । वडाध्यक्ष थारुका अनुसार बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग थियो । गुणस्तरमा प्रश्न उठाउँदै युवा प्रसारण लाइनको टावरमा चढेका हुन् ।