१ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो ।
अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गर्नेछ । यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि ४ दिन म्याद थप भएको थियो ।
पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रहेका रायमाझी आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।
तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् । अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।
यस्तै आज पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान लिइएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा सोमबारबाट बयान लिन थालिएको हो । वैशाख २७ गते पक्राउ परेका खाणसँग प्रहरीले २८ गते नै प्रकरणसम्बन्धमा सोधपुछ गरे पनि उनको बयान भने रेकर्ड गरिएको थिएन ।
खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ । आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो । सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई भनेको छ ।
प्रहरीले खाण गृहमन्त्री हुँदा उनले गरेका निर्णय र बिचौलियाहरूसँग सम्बन्ध तथा पैसा लेनदेनको विषयमा प्रश्न तयार गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउनेछ ।
यसभन्दा अगाडि सरकारी वकिल र प्रहरीले खाँणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार लिइसकिएको छ । हालसम्म पक्राउ परेका ११ जनाको बयान सकिएको छ ।