२८ जेठ,एजेन्सी ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताएका छन् । अहिलेसम्म रुससँग रक्षात्मक बनेको युक्रेनले आफ्नो भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण सुरु गरेका छौँ। हाम्रा सेना रुसी सेनालाई धपाउने लक्ष्यका साथ अघि बढिरहेका छन् ।’ जेलेन्स्कीले भनेका छन् । तर उनले जवाफी आक्रमणको विवरण भने नदिने बताए । पछिल्लो समाचार अनुसार युक्रेनी सेना देशको पूर्वी भागमा रहेको बख्मुत र दक्षिणमा जापोरिझियामा अगाडि बढिरहेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि एउटा आन्तरिक बैठकमा युक्रेनले जवाफी आक्रमण गरेको स्वीकार गर्दै चुनौतीको सामना गर्न सेनालाई निर्देशन दिएको खबरमा उल्लेख छ । अमेरिकाले दिएका अत्याधुनिक एफ–१६ लडाकु जहाज, जर्मनीले दिएका लियोपार्ड– २ ट्याङ्क, बेलायतले दिएका च्यालेञ्जर्स–२ ट्याङ्क लगायतको सहायतामा युक्रेनी सेनाले रुसविरुद्ध सफलता प्राप्त गइरहेको पनि राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
युक्रेनी आक्रमणका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार प्रकाशित एक भिडियो अन्तर्वार्तामा भनेका छन्, “हामी निश्चित रूपमा भन्न सक्छौँ कि युक्रेनी आक्रमण सुरु भएको छ ।” शनिबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको वार्तापछि किभमा जेलेन्स्कीले रुसी नेता पुटिनको भनाइ ‘उत्सुकताजनक’ भएको बताए ।
उनले रुसले सधैँ आफू अब धेरै बाँकी नरहेको महसुस गर्ने गरेको टिप्पणी गरेका गरे । युक्रेनले लामो समयदेखि पश्चिमी मुलुकहरूले दिएको हतियार र सैन्य तालिमपछि रुसविरुद्ध आक्रमण थाल्ने योजना बनाएको थियो । यो आक्रमण रुसले युक्रेनबाट कब्जा गरेका चार क्षेत्र दोनेट्स्क, खेरसन, लुहान्स्क र जापोरिज्जिया फिर्ता ल्याउनका लागि भएको युक्रेनी भनाइ छ ।