३२ जेठ, काठमाण्डौ ।
बुधबार नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ । यो मौसमी प्रणालीका कारण कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
बिहीवार राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, मधेश प्रदेशसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यस वर्षको मनसुन प्रणाली बुधवार नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, वाग्मती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको छ । नेपालको अन्य भू–भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले बताएको छ । यसैबीच गएरातीको ठूलो हावाहुरीका कारण कोशी प्रदेशभर विद्युत प्रसारणमा समस्या देखिएको छ ।
धेरै स्थानमा विद्युतको पोल ढलेको, प्रसारण लाइनका तार चुडिएको, रुख ढलेर समस्या भएको छ । विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय कोशी प्रदेश कार्यालय प्रमुख उमेशकुमार झाका अनुसार प्रदेशका अधिकांश भागमा हावाहुरीले क्षति पुर्याएको छ । प्राधिकरणले बिहानैबाट मर्मत तथा पोल बनाउने कार्यलाई अघि बढाएको पनि उनले बताए ।
अहिले प्रदेश राजधानी विराटनगरमा विद्युत ठप्प छ । हावाहुरीबाट क्षति पुगेपछि ३३ केभिए प्रसारण लाइन समेत स्टोर हुन नसक्दा विद्युत आपुर्ती रोकिएको उनले बताए । आज साँझसम्म विद्युत प्रसारण नियमित हुन सक्ने उनले बताए । हावाहुरीले प्रदेशका अन्य जिल्लामा समेत क्षति पुर्याएको छ । केहीस्थानमा प्रसारण लाइन नियमित गर्न एक–दुई दिनको समयनै लाग्न सक्ने पनि झाको भनाई छ ।