विराटनगर,भदौ २०
१२ औँ मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा विराटनगरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।
“संघीयताको महत्वपुर्ण सार मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौँ खबरदार” भन्ने मुल नारा सहित मानव बेचबिखान नियन्त्रणका लागि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको आयोजनामा विराटनगरको महेन्द्र चौकमा दीप प्रज्वलन गरिएको हो ।
सो दीप प्रज्वलन कार्यक्रममा प्रदेश नं १ सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक समस्याका रुपमा राज्यले आत्मसात गरेको मानव बेचबिखन नियन्त्रणका लागि जनजागरण ल्याउन आवश्यक रहेको बताए ।उनले समाजमा गरिबीमा रहेका मानिसहरुलाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै प्रलोभनमा पारेर पनि बेचबिखनमा लाने गरेकोले सचेत रहन आग्रह गरे ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विभिन्न प्रलोभनमा पारी मानव बेचबिखन भइरहेको भन्दै मानव बेचबिखन रोक्न सबै एक ढिक्का भएर लाग्न आग्रह गरे ।
त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले १२ औँ मानव बेचबिखान तथा ओसार पसार विरुद्धको दिवस सफल बनाउन सबैमा आग्रह गरे ।