११ असार,एजेन्सी ।
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा सुपर सिक्समा पुग्ने ६ टोलीको टुङ्गो लागेको छ । समूह ए बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्टइन्डिज सुपर सिक्समा पुगेका छन् । समूह बी बाट श्रीलंका, ओमान र स्कटल्यान्डले सुपर सिक्समा स्थान बनाएका छन् । जिम्बावे समूह ए बाट ४ अंकका साथ सुपर सिक्समा जाने पक्का भएको छ ।
समूह बी बाट भने मंगलबार श्रीलंका र स्कटल्यान्डबीचको विजेता टोली ४ अंकका साथ सुर सिक्समा जानेछ । सुपर सिक्समा जाने टोलीको आफ्नो समूह चरणको नजिता गणना गरिनेछ । जिम्बावेले नेदरल्यान्ड्स र वेस्टइन्डिज दुबैलाई हराएको हुँदा ४ अंकका साथ सुपर सिक्समा पुगेको हो । सुपर सिक्समा आफ्नो समूहबाट जाने टोलीको नतिजा समूह चरणकै गणना हुनेछ ।
त्यसैले सुपर सिक्समा अर्को समूहबाट आउने टोलीबीच मात्रै प्रतिस्पर्धा हुनेछ । सुपर सिक्सबाट शीर्ष स्थानमा रहने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । समूह बी बाट श्रीलंका ४ अंकका साथ सुपर सिक्समा आउने सम्भावना छ । त्यसैको कारण जिम्बावे र श्रीलंकाले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना बलियो छ ।
समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएई भने बाहिरिएका छन् । यी चार टोलीले प्लेअफ खेल्नेछन् । प्लेअफ समूह चरणबाटै बाहिरिने चार टोलीबीच ७ देखी १० औं स्थानको लागि प्रतिस्पर्धा हुने छ । ३० देखी ६ जुलाई सम्म चल्ने प्रतियोगिताबाट ७ देखी १० औं स्थानमा रहने टिमको तय हुने छ ।
प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै समूह ए को पुछारमा रहने टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्ने छ । यी दुई खेल ७ औं स्थानको लागि सेमिफाइनल सरह हुने छन् । दुबै विजेता टोलीले ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् ।
पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् । नेपाल चौथो स्थानमा छ । अमेरिका पुछारमा छ । अन्तिम खेलमा सोमबार अमेरिका वेस्टइन्डिजसँग पराजित भएमा नेपाल चौथो स्थानमा रहने छ । यदि अमेरिका विजयी भएमा भने नेटरनरेट निर्भर पर्ने छ । त्यस्तै समूह बी मा आयरल्यान्ड तीनै खेलमा हारका साथ सुपर सिक्स गुमायो ।
युएई पनि तीन खेलमा जित विहीन हुँदै बाहिरिएको थियो । मंगलबार युएई र आयरल्यान्डबीच समूह चरणको अन्तिम खेल हुने छ । उक्त खेलको विजेता टोली चौथो र पराजित हुने टोली पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्ने छन् ।