२३ असार, काठमाण्डौ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशन गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको हो । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् ।
बढीमा दुई विषयसम्म अनुपस्थित परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामा जनाइएको छ । परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् ।
एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । यस्तै बोर्डले विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन भनिएको छ । साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन् ।
सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरुलाई बोर्डले भनेको छ । गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा असार २१ गते सार्वजनिक गरिएको थियो । त्यसमा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् ।