१० साउन, काठमाण्डौ ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नसक्ने बताएका थिए । यसअघि संसद अवरोध गर्ने योजनामा रहेको एमाले संसदीय दलको बैठकपछि उच्चस्तरीय छानविन समिति गठनको अडानमा झरेको हो ।
’गृहमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्रीहरूको सेटिङबिना यस्तो सम्भव छैन,’ गिरीले भनेका छन्, ’यसपटकमा जरासम्म गएर छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्छ । त्यसलाई सभामुखले रुलिङ गर्नुपर्छ । उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न सक्दैन ।’ उनले पटक–पटक गरी चैत १० गते कम्पनी दर्ता गरेयता ३३ पटक सुन ल्याएको देखिएको भन्दै यस्तो काण्ड हुँदा पनि थाहा नपाउने गृहमन्त्रीले पदमा बस्ने नौतिक आधार नभएको बताए ।
उनले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र उनको छोराको संलग्नताबारे पनि बोलेका थिए । प्रमुख सचेतक गिरीले बोलेपछि एमाले सांसदहरु उठेर गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । यद्यपी पछि अन्य सांसदहरुले पनि आफ्ना धारणा राखे । यसक्रममा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे ।
उनले सय किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् । ‘कि मुख्य नाइके पक्रिनुपर्यो, होइन भने मुख्य नाइके पत्ता नलागेसम्म प्रजातान्त्रिक व्यवस्थालाई स्वीकार गर्नुपर्छ’ उनले भने। उनले सुनका मालिक पक्राउ नपरे प्रधानमन्त्रीको आगमन भएपछि संसदभित्र आमरण अनसन बस्ने चेतावनीसमेत दिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०० किलो सुन प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरूले हस्ताक्षर गरेको संकल्प प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको हो । प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकारले जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।
सुन तस्करीमा नेपाललाई किन हब ट्रान्जिटको रुपमा संगठित अपराधीहरुले सजिलै प्रयोग गरिरहेका छन् भन्ने विषयमा अपराधशास्त्रको विन्दुबाट सरकारद्वारा अध्ययन र अनुसन्धान हुनुपर्ने रास्वपाको माग छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलो बढि परिमाणको सुन राजस्व अनुसन्धान विभागले गत बुधबार सिनामंगलबाट बरामद गरेको थियो ।
रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुई पाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु)भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको हो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ । सोही प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् ।