१६ साउन, एजेन्सी ।
अमेरिका फेरि कोरोना सङ्क्रमणको चपेटामा परेको छ । पछिल्लो समय त्यहाँ संक्रमण दर निकै बढेको छ । जसका कारण कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ ।
जुन सन् २०२२ को डिसेम्बरयताकै तीव्र वृद्धि हो । जुलाई दोस्रो हप्तामा ७ हजार १ सयभन्दा धेरै कोभिडका बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्क छ । सीडीसीका प्रवक्ता क्याथलीन कोन्लीले गएको हप्ता पनि अस्पतालमा भर्ना हुने सङ्ख्या बढेको र सङ्क्रमण बढेपछि यसले फेरि चिन्ता थपिएको बताएकी छिन् ।
तर सङ्क्रमणबाट हुने मृत्युदर भने न्यून रहेको सीडीसीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गएको वैशाख तेस्रो हप्ता कोभिड–१९ आपतकाल अन्त्यको घोषणा गरेको थियो । विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्यसँगै सङ्क्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटेका थिए ।
तर डब्ल्यूएचओले सङ्क्रमण रोकथामका आवश्यक उपायहरु अपनाउन आग्रह गरेको थियो । चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो । भाइरसको फैलावट रोक्न डब्ल्यूएचओले कडा प्रतिबन्धात्मक नियम लागू गरेको थियो ।