२२ साउन,एजेन्सी ।
क्यानडामा आयोजित क्लोबल टी–२० क्यानडा–२०२३ को उपाधि मोन्ट्रियल टाइगर्सले जितेको छ । यो प्रतियोगितामा यसपटक नेपालका दुई स्टार क्रिकेटर सहभागी भएका थिए । जसमा दुवैको टिमबीच नै उपाधि भिड्न्त भएको थियो ।
जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टिम सुर्रे जागुअर्र्सलाई पाँच विकेटले हराउँदै अर्का स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिम च्याम्पियन बनेको छ ।
उपविजेता बनेको सर्रेका सन्दीप र च्याम्पियन टिमका दीपेन्द्रले यसपटक प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै गहिरो छाप छाड्न सफल भएका छन् । प्रतियोगिताको उपाधि जितेपछि नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँग अष्ट्रेलियाका स्टार ब्याटर तथा मोन्टरिएल टाइगर्सका कप्तान क्रिस लिनले माफी मागेका छन् ।
लिनले दीपेन्द्रलाई गराएको रिटायर आउट गर्न भएको कारण माफी मागेका हुन् । ‘म दीपेन्द्रसँग माफी माग्न चाहन्छु । मैले आफ्नो खेल जीवनमा कहिले पनि सोचेको थिइन ब्याटरलाई रिटायर हुन भन्नेछु । तर जब टोलीमा आन्द्रे रसल जस्ता खेलाडी हुन्छन्, उनले हाम्रो टोलीलाई मजबुत बनाउँछन् ।
म दीपेन्द्रसँग माफी माग्न चाहन्छु, तर सबै खुसी हौं कि हाम्रो निर्णय सही सावित भयो र हामी च्याम्पियन बन्यौं’, लिनले खेलपछि भनेका छन् । १८ औं ओभरको अन्तिम बलमा दीपेन्द्र रिटायर्ट हर्ट आउट भएका थिए । जितको लागि १ सय ३१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको टाइगर्स १८ ओभरमा १०६–५ को अवस्थामा थियो ।
टिमलाई जितको लागि अन्तिम १२ बलमा २५ रन आवश्यक परेको थियो । दीपेन्द्र १७ बलमा १ चौकासहित १६ रन बनाएको अवस्थामा रिटायर्ट आउट भएका थिए । रसेलले आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँदा रसेलले अन्तिम बलमा छक्का हान्दै खेल जिताएका थिए ।
अमार खालिदलाई दुई छक्का हान्दै च्याम्पियन बनाए । अन्तिम बलमा दुई रन चाहिँदा छक्का प्रहार गरेका थिए । टाइगर्सका कप्तान लिनले दीपेन्द्रको तारिफ पनि गरेका छन् । ‘दीपेन्द्रले प्रतियोगितामा राम्रो गरे । १–२ खेलबाहेक अन्यमा खासै अवसर पाएका छैनन् । कहिले बलिङ पाएनन् त कहिले ब्याटिङ ।
तर पनि उनको जोशमा कुनै कमी आएको छैन । उनले टोलीको मनोबल पनि बढाएका छन् । र हाम्रो पहिचान पनि यही बनेको छ । मैदानमा जे जस्तो भएपनि हामी एक अर्कालाई साथ दिएर अघि बढेका छौं’, उनले दीपेन्द्रको तारिफ गर्दै भनेका छन् ।