१२ भदौ, काठमाण्डौ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सर्लाही, धनुषा, बारा, चितवन ,गोरखा, लमजुङ, पोखरालगायतका क्षेत्र भएर बग्ने ससाना नदीहरुमा आज बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रमा गएराति पानी परेकाले नदीहरुमा जलसतह केही बढ्न सक्ने महाशाखाले जनाएको हो ।
त्यसकारण सो क्षेत्रका नदी आसपासमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । यस्तै गोरखाको बारपाक र लमजुङ क्षेत्रमा पहिरोको जोखिम छ । मकवानपुर, चितवन, नवलपरासीको केही ठाउँमा पनि मध्यम वर्षा भएको छ । चितवनको देवघाट, रामपुर आसपास भने ठूलो पानी परेको छ ।
नारायणगढ–मुग्लिङ सडक खण्ड आसपासका खहरे खोलामा आकस्मिक बाढी र पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । तर अहिले नारायणगढ–मुग्लिङ सडकमा सामान्य रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, बुटवलको तिनाउ नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा आज बिहानसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो र राति पनि यी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।