काठमाडौँ, भदौ २२
मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोलीले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो ।
नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो । यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको छनौट प्रतियोगितामा नेपाल चौथो स्थानमा रह्यो ।
उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए । हङ्कङ एशिया कपका लागि छनोट भएको छ । फाइनल खेलमा हङ्कङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो ।
एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ । एशिया कपमा छनौट हुने टोलीले भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रहरुसँग खेल्ने अवसर पाउने छ ।