२७ भदौ ,काठमाण्डौ ।
दिवंगत संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा ब्रिटेनबाट आज आइपुगेका हुन् । मंगलबार विहान बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन्।
केही दिनअघि मात्र उनी भ्रमणका लागि अस्ट्रेलिया गएका थिए। यस्तै नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ पनि युकेबाट फर्किसकेका छन् । स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।
कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । उनी केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए । बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन् । दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू थिए । छोरीहरूले उनलाई अस्पताल पु¥याएका हुन् । नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ । हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने पारिवारिक स्रोतले जानकारी दियो ।
सरकारले नेम्वाङको राजकीय सम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । भोलि उनको निधनको शोकमा सार्वजनिक विदासमेत दिइएको छ । नेम्वाङको पार्थीव शरीर भने अन्तिम श्रद्धान्जलीका लागि अहिले उनकै निवास वालुवाटारमा राखिएको छ ।
आज दिउँसो सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयबाट निवासमा लगिएको हो । मंगलबार बिहान १ बजे बालुवाटारस्थित आफ्नै निवासको शौचालयमा बेहोस भएर ढलेका नेम्वाङलाई तत्काल त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको हृदयाघातका कारण निधन भएको थियो ।